म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, ६ बेपत्ता !

म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, ६ बेपत्ता !

Badigad Online
2 Min Read

म्याग्दी । लगातार परेको अविरल बर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा २ जनाको ज्यान गएको छ भने ६ जना बेपत्ता भएका छन् । पाँच घर पहिरोले बगाएको छ । धवलागिरी गाउँपालिका – ६ मराङको रिखामा ६ जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका छ जना वेपत्ता भएको मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

उनका अनुसार भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । धनबहादुर घाईते भएको वडा सदस्य लोकबहादुर पुनले जानकारी दिए ।भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयबासी समेत रहेका वडा सदस्य पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् ।

यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले सोमनाथ पौडेलको घर बगाउँदा दुई जनाको ज्यान गएको छ । वेपत्ता भएका दुई जनाको शव भेटीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पुर्‍याएको छ । यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । बिरबहादुर पुन र परदेवी पुनको घर बगाएको हो । घरका मानिसहरुले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा १ जना घाइते भएका छन् ।

बेपत्ता भएकाको उद्धारको लागि प्रहरीको दुई टोली घ`टनास्थलमा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मौसम केही खुलेमा हेलिकोप्टर मार्फत उद्धारको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । उनका अनुसार अझै केही दिन अविरल बर्षा हुने पूर्वानुमान गरिएसंगै म्याग्दीमा विपतमा परेकाको उद्धारको लागि टोली तयारी अवस्थामा रहेको छ । त्यस्तै जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्ले र बेनपा(९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदीले बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जोड्ने यातायात सम्पर्क बन्द भएको छ ।

मोटरेबल पुल नजिकै रहेको झोलुङ्गे पुल समेत बगाउने अबस्थामा पुगेको छ । पुल नजिकैको २० घर परिवारलाई रघुगंगा गाउँपालिकाले राहतको व्यवस्था गर्ने जनाएको छ । अविरल बर्षाले म्याग्दीका विभिन्न ग्रामिण सडक समेत अवरुद्ध भएका छन् । दजनौँ बस्ती जोखिममा रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित