मनोज कार्की , गुल्मी । पछिल्लो समय सकंटमा पर्न थालेको आरन व्यवसायलाई व्यवसायिक बनाउन गुल्मीको मालिका गाउँपालिकाले व्यवसायीहरुलाई औजार वितरण गरेको छ । पुराना पुस्ताले बालिघरे रुपमा गर्दै आएका आरन व्यवसायलाई थप परिस्कृत र व्यवसायिक बनाउन गाउँपालिका भित्र १४ जना आरन व्यवसायीलाई आरन सम्बन्धी औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष रित बहादुर थापाले जानकारी दिनुभयो । मालिका गाउँपालिका वडा नं ७ घमिरका व्यवसायीहरुलाई गाउँपालिकाले औजार वितरण गरेको हो ।
रोजगारीको हिसाबले राम्रो आम्दानीको श्रोत रहेपनि पुरानै ढङ्गले आरन सञ्चालन गर्दा व्यवसायीहरुको आर्थिक स्तर वृद्धि हुन नसकेको भन्दै अध्यक्ष थापाले निर्वाहमुखी आरन व्यवसायलार्ई थप व्यवस्थित गरि व्यवसायिक बनाउनुपर्ने बताउनुभयो । साथै उहाँले त्यसका लागि आवश्यक तालिम र सीपको व्यवस्था मिलाउन वडा कार्यालयलाई आग्रह समेत गर्नुभएको छ । वडाबाट बितरण गरिएको औजारको सोहि सदुपयोग गरि संचालन गर्ने सकेमा सफल आरन व्यवसायी बन्न सकिने वडा अध्यक्ष बेद प्रसाद पन्थीले बताउनुभयो । व्यवस्थापन र सञ्चालनमा कुनै समस्या परे वडा कार्यालयले तुरुन्तै समाधान गर्ने अध्यक्ष पन्थीले दाबी समेत गर्नुभएको छ ।
औजार बितरण कार्यक्रममा समाजसेवी चन्द्रमणि लम्साल ,ज्ञानराज पन्थी, गुणानिधि लम्साल,यम बहादुर बि.क, शेसकान्त लम्साल,डिल्लीराज उपाध्याय लगाएतको उपस्थिती रहेको थियो । आरन व्यवस्थापन तथा औजार बितरण कार्यक्रमको लागि वडा कार्यालय बाट ५ लाख बिनियोजन गरिएको थियो । वडा कार्यालयले आफुहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले औजार वितरण गरेको भन्दै खुसी व्यक्त गरेका थिए । पछिल्लो समयमा हराउँदै गएको आरन व्यवस्थित गर्नका लागि वडाले आरनका औजार बितरण गरेको भन्दै ब्याबसायिहरुले वडा तथा गाउँपालिकालाई धन्यबाद दिएका थिए ।