बाग्लुङ । बडिगाड गाउँपालिका वडा नं ५ मा रहेको ग्वालिचौर स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु भएको छ । लामो समयदेखि सामान्य उपचार हुँदै आएको स्वास्थ्य चौकीमा ल्याव नहुँदा यस भन्दा अगाडी स्थानीयहरु निजी मेडिकलमा गएर महगों मुल्य तिरेर सेवा लिन बाध्य रहेका थिए ।
२०१८ देखि स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको ग्रामिण स्वास्थ्य सुधार परियोजना फेयर मेड सस्थाद्धारा स्वास्थ्य चौकीमा ल्यावका सामानहरु उपलब्ध गराएपछि शनिवार प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाको हेपटाइटिस बि चेक गर्न रगत लिएर ल्यावको उद्घाटन गरिएको हो । बाग्लुङका विभिन्न स्थानीय तहमा महिला तथा बालबालिकाको स्वास्थ्यमा विभिन्न कार्य गर्दै आएको संस्थाले गाउँपालिकामा ल्यावका सामानहरु उपलब्ध गराएपछि अब यस क्षेत्रका जनताले राहत पाएको गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले बताउनुभयो ।
स्वास्थ्य चौकीलाई घ बर्गको ल्यावका सामाग्रीहरु हस्तान्तरण गरिएको र जसबाट टाइफाइड, जुकाको किसिम, ज्वरोको किसिम, लगायतका अन्य पिसाब र रगतबाट पत्ता लाग्ने रोगहरुको पहिचान सगैं छिटो उपचार गर्न सजिलो हुने फेयर मेडका प्रोजेक्ट म्यानेजर गणेश बडुवालले जानकारी दिनुभयो । ल्याव सामाग्री हस्ताण्तरण तथा समुद्घाटन कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष अर्जुन प्रसाद खरेलको अध्यक्षता रहेको थियो । कार्यक्रममा अमर बहादुर श्रीस, दान बहादुर पुन, बडिगाड गाउँपालिकाका सीआईटीटी संयोजक चुडामणी कण्डेल लगायतको विशेष उपस्थिति रहेको थियो ।
उक्त अवसरमा बोल्दै स्वास्थ्यकर्मी पुष्पा राकसकोटीले ससानो समस्याबाट अब अल्झिनु नपर्ने भन्दै अझै पनि ल्यावको थप व्यवस्थापन र सुधारका लागि गाउँपालिकाले सहयोग गर्नुपर्ने बताउनुभएको थियो । साथै उहाँले स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा सुविधामा वृद्धि हुनु सम्पूर्ण बडिगाडबासीलाई नै खुशीको कुरा रहेको भन्दै आफुहरुले सक्दो काम गरिरहेको स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा ल्याव व्यवस्थापन अध्यक्ष कृष्ण प्रसाद आचार्य, व्यवस्थापक बिष्णु आचार्य लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाले लामो समयसम्म ल्याव सञ्चालनको प्रयास गरेतापनि ढिलाई भईरहेको अवस्थामा फेरमेडले कार्यक्रम ल्याउदा अब निजि क्लिनिक भौतारिनुपर्ने बाध्यता अन्त्य भएको तथा तथा निशुल्क सेवा लिन पाउने भएपछि स्थानीय खुसी भएका छन् ।