मुसिकोट नगरपालिकामा एकैपटक ५० हजार कफीका बिरुवा रोपियो !

मुसिकोट नगरपालिकामा एकैपटक ५० हजार कफीका बिरुवा रोपियो !

Badigad Online
2 Min Read

तिलाचन पाण्डे, गुल्मी । कफीको उद्गम स्थल गुल्मीको मुसिकोटमा करिब ५० हजार बिरुवा रोपण गरिएको नगरपालिकाले जनाएको छ । बिसं १९९५ सालमा हीरा गिरीले बर्माबाट ल्याएको कफीको बिउँ गुल्मीको आँपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइएको छ ।

गुल्मीको कफीलाई ब्यबसायीक रुपमा लैजानका लागि अभियानकै रुपमा कफीका बिरुवाहरु रोपण गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार वडा नं १ पौदीअमराईमा आठ हजार १२० , वडा नं २ मुसिकोटमा दूई हजार पाँच सय , वडा न ३ बडागाउँमा २१ हजार ८३१ , वडा नं ४मा तीन हजार तीन सय , वडा नं ५ आँपचौरमा १० हजार , वडा नं ७ वामीमा २२० , वडा नं ८ मैदानमा दूई हजार ५०० र वडा नं ९मा ५१० गरी ४८ हजार ९८१ कफीका बिरुवाहरु रोपण गरिएको हो ।

कफीको उद्गम स्थल गुल्मी भनेर मात्रै नहुने भन्दै अब ब्यबसायीक रुपमा नै कफी खेती गर्ने सापकोटाले बताउनुभयो । गुल्मीबाट कफी खेतीको सुरुवात भएपनि स्याङजामा सबैभन्दा धेरै कफी रोपण गरिएको पाइएको छ । अघिल्लो बर्षको तथ्यांक अनुसार स्याङजामा तीन सय २४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । स्याङजा पश्चात काभ्रेमा र नुवाकोटमा कफी रोपण गरेको उल्लेख गरिएको छ ।

यस्तै उत्पादनको क्षेत्रमा पनि स्याङजा नै पहिलो स्थानमा रहेको पाइएको छ जहाँ बार्षिक ४६ मेट्रिक टन उत्पादन हुने गरेको छ । यस्तै नुवाकोटमा ३८ मेट्रिक टन र गुल्मीमा ३७ मेट्रिक टन उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ । गुल्मीमा बिशेष गरी मुसिकोट नगरपालिकाको आँपचौर , छत्रकोट , गुल्मी दरवार , धुर्कोट , रुरुक्षेत्रमा गरी १७८ हेक्टर जमिनमा कफी खेती गरिदै आएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित