बडिगाडको सवारी मोह : दुई गाडी हुँदा हुँदै थप गाडीका लागि १ कराेड बजेट !

बडिगाडको सवारी मोह : दुई गाडी हुँदा हुँदै थप गाडीका लागि १ कराेड बजेट !

Badigad Online
2 Min Read

विमल खड्का, जीवन पाण्डे, बाग्लुङ । गाउँगाउँमा सिहंदरबारको रुपमा स्थानीय तह आएपछि स्थानीयहरु खुसी भएपनि जनप्रतिनिधिको विलासी मोहले जनतालाई आजित बनाउने गरेको छ । अधिकाशं स्थानीय तहले महंगा महंगा सवारी खरिद गरेर सवारी साधनमै करौडौँ खर्चेका छन् । यसैबीच बागलुङको बडिगाड गाउँपालिकाले एक करोड रुपैयाँ बराबरको नयाँ सवारी खरिद गर्ने भएको छ । आर्थिक वर्ष २०७६–७७ को गाउँसभाले सवारी खरिदका लागि १ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

असार १० गतेको गाउँसभाले फर्निचर फर्निसिङ, मेसिनरी औजार र सवारी साधन खरिदका लागि १ करोड २१ लाख ६९ हजार ७ सय ४८ रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । बडिगाड गाउँपालिकामा अहिले जिल्ला समन्वय समिति बागलुङबाट टोयोटा कम्पनीको गाडी र अर्थमन्त्रालयबाट लिएको सवारी सञ्चालनमा रहेका छन् । पालिकामा दुई वटा सवारी सञ्चालनमा भएपनि थप एक करोड बराबर रकम विनियोजन गरी नयाँ सवारी खरिद गर्ने भएपछि स्थानीयले जनप्रतिनिधि सवारी मोहमा लागेको आरोप लगाएका छन् ।

बडिगाड गाउँपालिकाले नयाँ सवारी आवश्यक भएको हुँदा खरिदका लागि बजेट विनियोजन गरेको बताएको छ । ‘हामीसँग पुरानो गाडी छ, पुरानो गाडीको मर्मत र मिस्त्रीको अभावले गर्दा समस्या झेल्दै आएका छौँ, गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले भने, नयाँ सवारी किन्दा गाउँपालिकाका स्थानीयको कामममा जाँदा थप सहज हुने भएकाले हामीले रकम छुट्याएका हौँ ।’ पालिकाले चलाउँदै आएको दुई गाडीको मर्मत सम्भार गर्दा अत्याधिक रकम खर्च भएको हुँदा त्यसलाई कम गर्न नयाँ सवारी खरिद गर्न बजेट विनियोजन गरेको पालिका अध्यक्ष पाइजाले बताएका छन् ।

उनका अनुसार जिल्ला समन्वयबाट लिएको गाडी र अर्थमन्त्रालयबाट निःशुल्क रुपमा लिएको स्कार्पियोको खर्च धान्नै नसक्ने भएपछि र पाटपुर्जा महँगो भएपछि नयाँ सवारी खरिद गर्ने निर्णय गाउँसभाबाट पारित भएको छ । पालिकामा दुई सवारी सञ्चालन हुँदाहुँदैपनि थप एक करोड रुपैयाँ खरिदका लागि छुट्याउने निर्णय भएपछि पालिकाको आलोचना हुन थालेको छ । जनप्रतिनिधि जनताको सेवामा लाग्नुपर्ने बेलामा सवारी खरिदमा मोह राख्नुले पालिकालाई जनताले हर्ने दृष्टिकोणमा परिवर्तन हुने एक स्थानीयले बताएका छन् । पालिकामा अहिले विभिन्न शाखा र वडाध्यक्षलाई गरी १० वटा मोटरसाइकल, एक टोयोटा र एक स्कार्पियो रहेका छन् । ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित