समिति र नगरबीच कुरा बाँझिदा एक महिनादेखि उठेन वामी बजारको फोहोर !

समिति र नगरबीच कुरा बाँझिदा एक महिनादेखि उठेन वामी बजारको फोहोर !

Badigad Online
3 Min Read

सागर भण्डारी, गुल्मी । मुसिकोट नगरपालिका वडा नं ७ स्थित वामीटक्सार बजारको फोहोर विगत १ महिना देखि उठ्न सकेको छैन् । फोहोर उठ्न नसक्दा मुख्य बजारका व्यवसायीहरुले फोहोर थुप्र्याएर राखेका छन् । पहिले हप्ताको १ पल्ट नगरपालिकाको गाडीले फोहोर उठाउँदै आएको भएपनि विगत २ हप्तादेखि फोहोर उठ्न नसक्दा होटलमा फोहोरको दुर्गन्ध थुप्राएर राख्नुपरेको होटल व्यवसायी गोपाल सापकोटाले बताउनुभयो ।

नगरपालिकाले निर्माण गरेको डम्पिङ साईडमा कहिले काहीँ आफै फोहोर बोकेर जानुपरेको भन्दै डेरा भाडामा बस्नेहरुलाई भने झनै सास्ती भएको उहाँको भनाई छ । लकडाउनको बीचमा होटल सञ्चालन नभएको भएपनि अहिले भने होटल व्यवसाय सञ्चालन भए लगत्तै फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिएको उहाँले बताउनुभयो ।

नगरपालिकाले ध्यान दिएन :  समिति

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि समिति नै बनाएर फोहोर उठाउँदै आएको थियो । उक्त समिति मार्फत नगरपालिकाको ट्याक्टरले फोहोर उठाउँदै आएको भएपनि पछिल्लो समय नगरपालिकाले ध्यान नदिँदा १ महिना देखि फोहोर उठ्न नसकेको समितिका अध्यक्ष गोपिकृष्ण खरेलले बताउनुभयो । अघिल्लो समयमा फोहोर व्यवस्थापन गर्दा समितिलाई ६ लाख रुपैयाँ ऋण लागेको भन्दै उहाँले उक्त भुक्तानी गरिदिन नगरपालिकालाई अनुरोध गर्दा आनाकानी गरेपछि फोहोर उठ्न नसकेको उहाँको भनाई छ । ट्याक्टर चालक र सहचालक देखि फोहोर उठाउने कर्मचारीहरुको तलब समेत दिन नसकेपछि अफ्ठ्यारो स्थिति आएको उहाँको भनाई छ ।

समितिले काम गरेन अब नगरले नै गर्छ : नगरप्रमुख

यता मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले भने फोहोर निरन्तर उठेको दाबी गर्नुभएको छ । केही हप्ता फोहोर नउठेको कुरा सत्य भएपनि ट्याक्टरले निरन्तर फोहोर उठाउँदै आएको उहाँको भनाई छ । समितिलाई फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्मा दिएको र जसका लागि नगरपालिकाले २ वटा ट्रयाक्टर समेत खरिद गरेको भन्दै उहाँले समितिले सोँचे अनुरुप कार्य गर्न नसक्दा अफ्ठ्यारो स्थिति आएको बताउनुभयो ।

समितिलाई उपभोक्ताहरुसगंबाट केही रकम उठाएर व्यवस्थापन गर्न आग्रह गर्दै आर्थिक जिम्मा सम्पूर्ण दिएको भन्दै उहाँले समितिले सोँचे अनुसार काम गर्न नसकेको बताउनुभयो । उपभोक्ताहरुसगं केही निश्चित शुल्क उठाएर फोहोर उठाउन आग्रह गरेको उहाँको भनाई छ । समितिले काम गर्न नसकेपछि नगरपालिकाले अब आफै कर्मचारीहरु राखेर फोहोर व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो । अहिले फोहोर लगेर फाल्नका लागि डम्पिङ् साईड निर्माण हुँदै गरेकोले थोरै समस्या भएपनि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सकंलन गरेर डम्पिङ साईडमा समेत पुन : फोहोरको वर्गीकरण गर्नका लागि कर्मचारी राखेर व्यवस्थापन गर्न लागिएको नगरप्रमुख सापकोटाको भनाई छ । फोहोर व्यवस्थापन समिति र नगरपालिकाबीच कुरा बाँझिदा यता स्थानीयहरुले भने सास्ती भोगेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित