मुसिकोट नगरपालिकाद्धारा किसानलाई कृषि उपकरण वितरण !

मुसिकोट नगरपालिकाद्धारा किसानलाई कृषि उपकरण वितरण !

Badigad Online
2 Min Read

सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले कृषकलाई आधुनिक प्रविधिका कृषि यान्त्रिकरण वितरण गरेको छ । खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्दै राष्ट्रिय समृद्धि हासिलका लागि उत्पादनमा बृद्धि गर्न कृषि उपकरण वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत ९ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा जोत्नेदेखि कुटानी पिसानीसम्मका उपकरण उपलब्ध गराएको हो । कृषि मेसिनरीको लागि अघिल्लो आ.व. मा वडा कार्यालयमा निवेदन पेश गरी छनोट भएका कृषकहरुलाई वडाको सिफारिसको आधारमा कृषि उपकरणहरु वितरण गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत नवराज भण्डारीले बताउनुभयो । जसमध्ये ३१ वटा हातेट्याक्टर, ३१ वटा कुटानी पिसानी मिल, खाडल खन्ने मेसिन र ह्याचिङ मेसिन वितरण गरिएको मुसिकोट नगरपालिका कृषि शाखाले जानकारी दिएको छ ।

मुसिकोट ७ तिम्लेचौरका किसान गोकुल रानाले हाते ट्याक्टर पाएपछि खेत जोत्ने गोरु र हलीको चिन्ता हटेको बताउनुभयो । एक त गाउँमा गोरु नै पाउन छाडेको र अर्कोतर्फ गोरु र हलिको पैसा बचत हुनुका साथै समयको पनि बचत भएको उहाँको भनाई थियो । मुसिकोट ४ आरुपाटाका राजेश अधिकारी पनि प्रविधिका कारण निक्कै खुसी हुनुहुन्छ । नगरपालिकाले कृषकहरुको आयस्तर सुधार गर्न र उत्पादन वृद्धि गर्ने उद्धेश्यले वितरण गरेको हातेट्याक्टरले समय र पैसा दुबैको बचत हुने उहाँले बताउनुभयो ।

युवाहरु बिदेशिने क्रम बढी रहेकाले गाउँका बासिन्दाले काम गर्ने जनशक्तिको अभाव झेलिरहेका बेला यस्ता कृषि उपकरणबाट किसानहरुले कम जनशक्तिबाट पनि धेरै काम गर्न सक्ने उहाँले बताउनुभयो ।नगरपालिकाले प्रत्येक वर्ष कृषकहरुलाई अनुदानमा कृषि उपकरणहरु वितरण गर्दै आईरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित