विष्णु प्रसाद आचार्य, गुल्मी । मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित महेन्द्र आदर्श नमुना मा वि को डि पी आर गुरुयोजना निर्माणको लागि सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नमुना विद्यालयको मापदण्ड पुरा गरी छिटोभन्दा छिटो नमुना विद्यालयको अवधारणा अनुसार काम सम्पन्न गर्नका लागि डिपीआर गर्न लागिएको हो ।
डिपीआर निर्माणको लागि स्थलगत रुपमा शिक्षाविद् टीकाराम खतिवडा र प्राविधिक रेशौराज आचार्यको टोली वामीटक्सार आएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले डिपीआर छिट्टै सम्पन्न भइ निर्माण कार्यको थालनी भइ छिटो सेवा प्रवाह हुने कुरामा आफु विश्वस्त रहेको र निर्माण कार्यलाइ सघाउन यहाँका सरोकारवाला सबै सघाउन आतुर रहेको बताउनुभयो । कार्यक्रममा मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख देविराम शर्माले बोल्दै यस्ता योजनाका धेरै कामहरु समयमा डिपीआर नहुने जसले गर्दा बजेट पास नहुने र र्मिाणकार्य नै प्रभावित हुने गरेका उदाहरण स्मरण गराउँदै यस विद्यालयले त्यस्तो समस्या भोग्न नपरोस भन्दै कार्यक्रम शीघ्र सञ्चालन तथा सम्पन्नताका लागि अग्रिम शुभकामना दिनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा शिक्षाविद टीकाराम खतिवडाले नमुना विद्यालयका अवधारणा र मापदण्डका बारेमा प्रट्याउनुभएको थियो । नमुना विद्यालयले काम मात्रै गरोस सरकारको सहयोगको कमी नहुने भन्दै स्थानीय सरकार, प्रदेश सरकार र विभिन्न सामाजिक सँघ सँस्थाले पनि सहयोग गर्ने कुरामा कन्जुस्याइ नगर्ने विश्वास व्यक्त गर्नुभएको थियो । त्यस्तै प्राविधिक रेशौराज आचार्यले विद्यालयको स्वामित्वमा रहेको जग्गाको मापन गरी त्यसको सही सदुपयोग गर्नु नै यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताउनुभएको थियो ।
कार्यक्रममा अग्नीधर लोहनी, हरीनारायण सापकोटा, रामचन्द्र श्रेष्ठ लगायतले आफ्नो धारण राख्नुभएको थियो । कार्यक्रममा शिक्षाप्रेमी, बुद्धिजिवी, सरोकारवाला, राजनितीक दलका प्रतिनिधिहरु,शिक्षक, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । विद्यालयको सभाहलमा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारीको स्वागत मन्तव्य,विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुदर्शन शाक्यको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन शिक्षक सरोजराज बौद्धाचार्यले गर्नुभएको थियो ।