मध्यपहाडी लोकमार्गमा खसेको पहिरोले जोखिमै जोखिम, सडक जीर्ण !

मध्यपहाडी लोकमार्गमा खसेको पहिरोले जोखिमै जोखिम, सडक जीर्ण !

Badigad Online
3 Min Read

बागलुङ – मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुगे पनि सकडको अवस्था जीर्ण भएको छ ।सकड बेला बेलामा खसेका नयाँ–पूराना पहिरोले सडक कुरुप बनेको छ । कालोपत्र उप्केको छ । सडकभर खाल्डाखुल्डी छन् । यात्रामा पाइलैपिच्छे जोखिम छ । यसपालिको अधिक वर्षाले त झन् सडक कामै नलाग्ने बनाएको छ ।

गलकोट नगरपालिका–१ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ । जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा उच्च जोखिम छ । जम्दारेको घुम्तीमा सडक भाँसिएपछि ठूला सवारी वारपार गर्न सक्ने स्थिति छैन । साँघुरिएको सडकमा बल्लतल्ल साना सवारी चल्छन् । ‘गाडी चलाउने जस्तो बाटै छैन, नचलाउँ किस्ता कसरी तिर्ने ?’, जीप चालक राजेन्द्र विकले भने । कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रँदै गएको उनको भनाइ छ । यसपालिको वर्षायाममा सडक झन बिग्रिएको उनले बताए ।

लगातारको वर्षाले जमिन गलेपछि सडक भाँसिएको वडा नं २ का अध्यक्ष हेमन्त भण्डारीले बताए । ‘ठाउँठाउँमा पहिरा खस्ने र सडक भाँसिने भएपछि लोकमार्ग जोखिमयुक्त बनेको छ ।’ नगरपालिकाका प्रवक्तासमेत रहनुभएका उनले भने । तत्काललाई पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने गरिएपछि दीर्घकालीनरुपमा सडक सुरक्षाको काम हुन सकेको छैन । ‘राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र मर्मत, सुधारमा खासै ध्यान गएको देखिन्न,’ अध्यक्ष भण्डारीले गुनासो गरे । नाली सफाइ नहुँदा बढी समस्या निम्तिएको उनको भनाइ छ । केन्द्रीय आयोजना भएको हुँदा स्थानीय तह लोकमार्गप्रति उदासिन छन् ।

सामान्य मर्मत सम्भारका काम पनि आयोजनालाई देखाएर पन्छिने प्रवृत्ति छ । सडक भाँसिएको ठाउँमा थप क्षति हुनबाट रोक्नबाहेक तत्काल अरु केही गर्न नसकिने लोकमार्ग आयोजनाका इञ्जिनीयर उज्जवल शर्माको भनाइ छ । आउँदो हिउँदमा काम अगाडि बढ्ने उनको भनाइ छ । घोडाबाँधे–हटिया खण्डको पूरै सडक पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको इञ्जिनीयर शर्माले बताए । कमजोर भू–बनोट, पानीको उचित निकास नहुनुजस्ता कारणले पनि सडक भाँसिने, पहिरा जानेजस्ता समस्या निम्तने गरेको उनको भनाइ छ । लोकमार्गले जिल्लामा १४२ किमी दूरी समेट्छ ।

घोडाबाँधे–हटिया खण्डमा सबैभन्दा शुरुमा कालोपत्र भएको थियो । बागलुङ बजारदेखि घोडाबाँधे जोड्ने २५ किमी सडक अझै कच्ची छ । हटियादेखि पश्चिम अधिकांश खण्डमा पनि कालोपत्र सडक छ । मार्ग खुलको दुई दशक बित्दासमेत लोकमार्गको बागलुङ–घोडाबाँधे सडकखण्ड कालोपत्र हुन सकेको छैन । पटकपटक म्याद थप हुँदासमेत निर्माण कम्पनीले सडक कालोपत्र गर्न सकेको छैन । सदरमुकामसँगै जोडिएको सडक दूरावस्थामा छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित