सागर भण्डारी,गुल्मी । स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा छनौट गर्ने क्रममा वडाध्यक्षले बहुमतको दम्भ देखाएको स्थानीयले आरोप लगाएका छन् । मुसिकोट नगरपालिका वडा नं ९ स्थित अर्लाङ्कोट स्वास्थ्य चौकीको स्तरोन्नती सगैं नयाँ भवन निर्माणका क्रममा वडाध्यक्ष नरेशराज खरेलले सर्वदलीय सर्वपक्षीय बैठक बिना बहुमतको आधारमा जग्गा छनोट गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले श्रावण २८ गते सर्वपक्षीय बैठक बसेर विवादित जग्गाको विषयलाई समाधान गर्न अनुरोध गरेको भएपनि वडाध्यक्षले २५ गतेनै वडा कमिटीको बैठक बसाली बहुमतको आधारमा घोँडाखसेलाई भवन निर्माणका लागि उपयुक्त स्थान हुने भनि स्थानीयसगं छलफलनै नगरी बहुमतको आधारमा छनौट गरेको उनीहरुको आरोप छ । सोमबार स्थानीयले मुसिकोट नगरपालिका र पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई पाल्पाको बोधार्थ वडा कार्यालयमा विरोध पत्र पेश गरेका छन् ।
विरोध पत्रमा विगतका समयमा पनि उक्त स्थानमा स्वास्थ्य चौकीको भवन पर्दा जग्गाको अभावमा बजेट फ्रिज भएको अवस्थालाई मध्यनजर गरी वडा कार्यालयकै अनुरोधमा दानसिङ फाँटमा स्थानीयहरुले निशुल्क जग्गा दिएको र मोटरबाटो समेत निर्माण गरिएको लेखिएको छ । त्यस्तै प्राधिकरणका ईन्जिनियरहरुले दुवै तर्फको जग्गा स्थलगत अवलोकन गरी दानसिङ फाँट नै उपयुक्त हुने र वडा कार्यालयले सिफारिस गरेमा टेन्डर प्रकाशन गर्न हुने भनि स्थानीयको भेलामा भनेपनि वडाध्यक्षले वडाकार्यालय भन्दा बाहिर अनुचित दबाबमा परि घोडाखसेलाई सिफारिस गरेको भन्दै विरोध जनाएका छन् ।
विरोध पत्र हस्तान्तरण पछि नगरपालिकामा भएको कार्यक्रममा बोल्दै देवराज खरेलले वडाकार्यालयको अदुरदर्शी र गैरजिम्मेवार निर्णय आफुहरुलाई मान्य नहुने बताउनुभयो । प्राविधिकले नै अनुपयुक्त भनेको साँघुरो जग्गालाई वडाध्यक्षले मनोमानी सिफारिस दिँदा भावि पुस्ता समेत पछुताउनुपर्ने भन्दै उहाँले यही प्रवृत्ति हावी भए जनतालाई स्थानीय सरकारको अनुभुत नहुने स्पष्ट पार्नुभयो । साथै उहाँले शिक्षकहरुले पनि आफ्ना आचरण र व्यवहार सुधार्न आग्रह गर्नुभयो ।
सोही अवसरमा बोल्दै डिल्लीराज खरालले विगतका योजना पनि जग्गाकै कारणले सम्पन्न हुन नसकेकाले आफुहरुले स्वास्थ्य चौकीको भवन निर्माणका लागि निकै उपयुक्त रहेको जग्गा उपलब्ध गराएपनि वडाध्यक्षले विवेक नपुर्याउँदा पुन : फ्रिज हुने होकी भन्ने चिन्ता बढेको बताउनुभयो । खड्क बहादुर खत्रीले केही समय अगाडी घोडाखसेमा भवन निर्माण गरिनुपर्ने र ईन्जिनियरहरुलाई बधनियत तरिकाले लगिएको भनि मिडियाबाजी गरिएको भन्दै खेद प्रकट गर्नुभयो । साथै उहाँले वडाध्यक्ष कसैको ईसारामा नभई जनताको सुझावको आधारमा चल्नुपर्ने भन्दै वडा कार्यालयमा काम नै ठप्प हुने गरी जग्गा छनौटका लागि तम्घास जानुले वडाध्यक्षको नैतिकता माथि नै प्रश्न उठेको आरोप लगाउनुभयो । गलत काम गर्ने वडाध्यक्षले राजिनामा दिनुपर्ने उहाँको सुझाव थियो ।
वडा अन्य प्रतिनिधिलाई समेत गुमराहमा राखि नगरप्रमुखले सर्वदलीय भेला राखि सहमतीमा निकाश निकाल्न दिएको सुझावलाई समेत कुल्चिएर हताहसमा वडाध्यक्षले बहुमतको बल देखाएको कालिदास खरेलले आरोप लगाउनुभयो । खरेलले भावि दिनमा हस्पिटलनै बनाउन समेत उपयुक्त हुने उक्त जग्गा पहिले वडाकार्यालयकै आग्रहमा स्थानीयले दिएपनि वडाध्यक्षको पछिल्लो कदमले आफुहरुमा निराशा छाएको बताउनुभयो । वडासदस्य घन बहादुर खत्रीले वडाध्यक्षले आफुहरुलाई बोलाएर एकपक्षीय रुपमा निर्णय गरेको बताउनुभयो । त्यस्तै भानु खरेलले आफै निर्णय गर्ने र आफै कुल्चिने परिपाटीले जनतालाई सास्ती भएको बताउनुभयो ।
पाल्पाबाट ईन्जिनियर आएको कुरा स्वास्थ्य सयोंजकले वडाध्यक्षलाई गराएको भएपनि जानकारी नै नभएको भनेर वडाध्यक्षले बोल्नु दुखद रहेको बताउनुभयो । सोही अवसरमा बोल्दै प्रकाश खरेलले भुगोलको हिसाबले आफुहरु वर्षौ देखि अन्यायमा परेको भन्दै वडाध्यक्षले पुर्वाग्रही तवरले निर्णय गरेको बताउनुभयो । लामो समय देखि दानसिङको विकासमा अवरोध गरिँदै आएको भन्दै उहाँले आफुहरु न्याय खोज्न नगरपालिका आएको बताउनुभएको थियो । विरोध पत्र बुझ्दै मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले भवन निर्माणका लागि जग्गा विवाद रहेको भनेर आफुले प्राधिकरणमा जानकारी गराउने र वडाध्यक्षलाई पुन ः एकपटक सर्वदलिय बैठक बसेर निर्णय गर्न आग्रह गर्ने र सहजीकरणका लागि आफु पनि उपस्थित हुने बताउनुभयो ।
स्वास्थ्य चौकीको भवन फ्रिज हुने अवस्था आएमा अर्लाङ्कोटकै विकाशमा बाधा पुग्ने उहाँको भनाई थियो । स्मरण रहोस केही दिन अगाडी घोँडाखसेमै स्वास्थ्य चौकीको भवन निर्माण हुनुपर्ने माग सहित एक समुह डेलिगेशन आएको थियो ।