सुमित्रा कडेंल, पाल्पा । निस्दी गाउँपालिका पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ। निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप मंगलबार साँझ करिब साढे ५ बजे गल्धाको पटकसर नजिकै दुर्घटना भएको हो।
गाडी स्टाफ सहित १० जना सवार जिप दुर्घटनामा परि निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटना स्थलमै मृत्यु भएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवल्दार मनिराम यादवले बताउनुभएको छ । दुर्घटनामा परि घाइते हुनेहरुमा निस्दी ५ गल्धा , पटकसरका ४ जनामध्ये ३८ वर्षीय सुमित्रा सारु , ३६ वर्षीय सेरमती सारु , २० वर्षीय लक्ष्मी सारु र ३७ वर्षीय तिलकुमारी सारु रहेका छन ।
त्यस्तै घाइते हुनेहरुमा निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीय सृजना गाहा र निस्दी ४ मित्याल , काफलका २२ वर्षीय विष्णु माया सारु रहनुभएको छ। घाइतेहरुको उद्दर गरि उपचारको लागि तानसेन स्थित मिशन हस्पिटलमा पठाएको प्रहरी हवल्दार यादवले बताउनुभयो । जिप वर्षेयामका कारण बाटो भास्सिएर दुर्घटना भएको निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालका वडा सदस्य रनबहादुर गाहाले घटना स्थलबाट बताउनुभएको छ। जिप सडकबाट करिब ७ सय मिटर तल खसेको छ। गाडी दुर्घटना पछि चालक र सह चालक फरार रहेकोले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।