टोपलाल अर्याल – ड्यामको अर्थ पानी रोक्ने हो । रेसुङ्गा पोखरी नजिक खोल्सामा अहिले दुई वटा पर्खाल लगाइएको छ । झट्ट देख्दा ड्याम भन्न मिल्दैन् । करिव एक÷डेढ सय मिटरको दुरीमा दुई वटा पर्खाल निर्माण भएका छन् । पहिलो कुरा ड्याममा आफै पानी अडिदैन् । अहिलेको अवस्थामा पानी अडिए पनि ड्यामले थेग्ने संभावना कम छ । त्यो खोला पर्थटकीय तथा धार्मिक स्थल पोखरीदेखि नजिक र ऐतिहासिक धार्मिक स्थल यज्ञशाला निस्कने ठाउँमा पर्छ । खोला छेकेर ताल निर्माण गरे पर्यटकीय दृष्टिकोणले सुन्दर र वन सिंचित पनि गर्ने उदेश्य रेसुङ्गा संरक्षण समितिको थियो ।
गत बर्ष गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्गाको पोखरी नजिक ड्याम निर्माण गर्न प्रदेश ५ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट २० लाख बिनियोजन भयो । डिभिजन वन कार्यालय गुल्मीका अनुसार करिव १६ लाख बराबरको काम भएर भुक्तानी भएको छ । तर ड्यामको आलोचित बन्दै गएको छ । पर्यटकीय ताल भनेरै मन्त्रीसंग आफुहरुले बजेट माग गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश भुसालले बताए । उनले आफ्नो स्वार्थ पुरा गर्न डिभिजन वन कार्यालयले कार्यक्षेत्रभन्दा बाहिरको सामुदायिक वनलाई काम गर्न दिएर तालको बेहाल बनाएको आरोप लगाए ।
उनले वन र संरक्षणसमिति बिच छलफल एउटा तर काम अर्कै गराइएको बताए । सुरुमै झार माथि पर्खाल लगाएको बिषयलाई पटक–पटक वनमा ध्यानाकर्षण गराए पनि सुधारको पहल नभएको, पोखरीमा सिडी निर्माण नगर्न आग्रह गरे पनि निर्माण गरिएको भुसालले बताए । उनले आफुहरुका ५० हजारका ढुङ्गा समेत ड्याम निर्माणमा प्रयोग गरेर अन्तिममा उपभोक्ता समितिले पैसानै नदिएको बताए ।
प्रमुख काम ड्याम निर्माण हो । त्यो बाहेक अरु काममा पनि रकम खर्च गरिएको पाइएको छ । रेसुङ्गा पोखरीको पश्चिम मोडमा दुई तह सिडी निर्माण गरिएको छ । सिडीसहित गेट निर्माणको डिजाइन सोहि ठाउँमा पहिलेनै भएको छ । रेसुङ्गा नगरपालिकाका सव इन्जिनियर चक्र केसीले पोखरीको गेटमा अहिले बनाइएका सिडीको कुनै अर्थ नभएको बताए । उनले प्रमुख काम ड्याम निर्माणलाई कम प्राथमिकता दिएर आफुहरुले पहिलेनै डिजाइन गरेको ठाउँमा सिडी निर्माण गर्नु लज्जास्पद बिषय भएको बताए ।
डिभिजन वन कार्यालयले सुरुमा रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिसंग कामको सम्झौता ग¥यो । उपभोक्ता समितिले स्थानीय राजन काउछालाई काम दियो । काउछाले फेरि दिपेश अर्याललाई ठेक्का दिए । तर भने अनुसारको काम भएन् । जसका कारण अन्तिममा जीत बहादुर गुरुङ्ग मार्फत काम सम्पन्न गरेको रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर कुवंरले जानकारी दिए । उनले पनि ड्यामको बिषयमा प्राविधिक कम्जोरी रहेको बताए ।
आफुले पनि ड्याममा पानी संकलनको बिषय वन कार्यालयलाई बताए पनि स्टिमेटनै त्यस्तै बनाएकाले सोहि अनुसारको काम गरेको कुवंरले बताए । कुवंरका अनुसार पहिले तीन वटा ड्यामको काम गर्ने भने पनि पछि दुई वटा मात्रै गरिएको छ । करिव पाँच लाख बराबरको जनश्रमदान गर्ने समझौता भएको छ । तर जनश्रमदान गरिएको छैन् । उनले पछि सम्झौता बाहेर पोखरी नजिक सिडी र मैरी निर्माण लगायत मर्मतको काम गरिएको बताए ।
ड्याम निर्माणको भुक्तानीको बिषयमा डिभिजन वन कार्यालय र उपभोक्ता समितिका दुई खाले दावी देखिएका छन् । डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जनश्रमदानसहित करिव २४ लाखमा कामको आधारमा अहिले पन्ध्र÷सोह्र लाख बराबरको भुक्तानी गरिएको बताए । ड्यामको अपब्याख्या गरेर गलत प्रचार गरिएको भए पनि सम्झौता अनुसारको काम र भुक्तानी भएको दावी सापकोटाको छ । निर्माण गरिएको ड्याममा पानी नअडिएको बिषय स्विकार गर्दै अहिलेनै पानी भरिने खालको नबनाइएको सापकोटाले बताए ।
उनका अनुसार दुई÷तीन बर्षपछि पात र वालुवाले बुझिएर आफै ताल बन्ने भएकाले अहिले ड्यामले ठुलो बाढी आए रोक्ने र सानो पानीलाई शुद्धिकरण गर्ने काम मात्रै गरिरहेको छ । निर्माणको काम पाएको रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर कुवंरले भने आफुहरुले तीन किस्तामा करिव १२ लाख मात्रै भुक्तानी गरेको दावी गरेका छन् । उनले आफुहरुसंग भुक्तानी गरेका बैक स्टेटमेण्टहरु सुरक्षित भएको बताउँदै गलत आरोपको खण्डन गरे ।