बडिगाड गाउँपालिका वडा.न.७ का वडाअध्यक्ष कृष्ण गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको नियन्त्रणमा जिम्मेवार जनप्रतिनिधिको हैसियतले बडिगाड गाउँपालिकाको पालिका स्तरिय कोभिड १९ द्रुत समन्वय समितिको संयोजकको रुपमा रहि अग्रपङ्तिमा काम गर्दै आउनुभएका अध्यक्ष गुरुङले आफु संक्रमित कसरी भए र आफु संक्रमित भईसके पश्चात आफ्नो अनुभव र अवस्थाको बारेमा बडिगाड अनलाईन संग सामान्य अनुभव व्यक्त गरेका छन् ।
म एक जनप्रतिनिधि भई समाजको सेवा गर्न पाउँदा गर्व महशुस भएको छ । आफु वडा अध्यक्षमा निर्वाचित हुँदै गर्दा जनतासँग आफुले एक मात्र वाचा गरेको थिए कि म २४ सै घण्टा दिनरात नभनि तपाईहरुको सेवा र विकासमा खटिनेछु भनेर । म जति वेला वडा अध्यक्षमा निर्वाचित भएँ मलाई थाहा थिएनकि कोरोना भाईरसको यस्तो महामारिको विषम परिस्थिति आउला र एक्कासि संसारलाईनै तहसनहस बनाउला भनेर । तर परिस्थिति सँग कसैको पनि केही लाग्दो रहेनछ । परिस्थिति दिनानुदिन जटिल बन्दै गएको छ ।
कैयौं देशहरुमा हजारौंको संख्यामा मानिसहरुको मृत्युु भएको छ भने लाखौंको संख्यामा संक्रमण फैलिरहेको छ । हाम्रो देश नेपाल पनि यो विषम परिस्थितिबाट अछुतो रहन सकेन र बिस्तारै नेपालमा पनि कोरोना भाईरस कोभिड १९ को महामारिले तिब्रता लिदैछ जुन हाम्रो देश नेपालको नियन्त्रण र क्षमता भन्दा बाहिर जान थालिसकेको छ ।
तर म कहिल्यै पनि हतोत्साहित नभई बडिगाड गाउँपालिकाको आम समुदायलाई कोरोना भाईरसबाट जोगाउनका लागि आफ्नो कर्ममा निरन्तर लागिरहे । दिनभरि काम गरि बेलुका घरमा आई टिभिमा समाचार हेर्दा संक्रमितको संख्या, मृत्युु हुनेको संख्या र कोरोना भाईरस सम्बन्धि बिबिध गतिविधिहरु सुन्दा मलाई लाग्थ्यो कि म पनि एक सर्वसाधारण नागरिक सरह घरमै परिवारसँग बस्नुपर्छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ भनेर तर मनमा त्यो खालको सोचाई आएता पनि आफ्नो मनोवललाई उच्च बनाउँदै म संक्रमित हुन्छु भनेर काम छोड्ने हो भने हालत के होला ? म आफु एक्लै सुरक्षित भएर सिङ्गो समुदाय संक्रमित भयो भने हालत के होला ? भनेर गाउँपालिकाले आफुलाई दिएको जिम्मेवारी प्रती जिम्मेवार बन्दै गाउँपालिकाको सल्लाह र सुझावलाई सिरोपर राख्दै आफ्नो कर्ममा निरन्तर लागिरहे ।
जव रात पर्छ घरमा सबै परिवारको खोजि हुन्छ तर म भने आफ्नै काममा व्यस्त भएको हुन्थे । बेलुकाको खाना खाँदा घरमा प्राय म एक्लै हुन्थे किनकि म घरमा ढिला आईपुग्थे । एक दिन सबै परिवारका सदस्यहरु बसि खाना खाने समयमा आमाले मलाई हेर्दै भन्नुभयो बाबू घरमै बस भोलि देखि नजाउ यो रोग लाग्यो भने त मोरिने रहेछ त्यसैमा श्रीमतीले थपिन मैले पनि भनेको मान्दै मान्नुहुन्न भनेर । सोहि समयमा किचनको एक छेउमा बसेर खाना खाईरहेको छोराले भन्यो बाबा मलाई सबै साथिहरुले तिम्रो बाबालाई त कोरोना भाईरस लागेको छरे तिम्रो बाबा सधैं बिदेशबाट आएका मान्छेहरु सँग हिड्नुहुन्छ रे भनेर भन्यो म एकछिन स्तब्ध भए ।
मनमा साहास बटुलि सबैलाई सम्झाउँदै भने कसैले पनि चिन्ता नगर्नु मलाई केही हुँदैन र ममा यतिबेला ठुलो जिम्मेवारी छ सजिलो परिस्थितिमा त काम जसले पनि गर्छ तर काम र पदको मूल्यांकन अफ्ठ्यारो परिस्थितिमा हुन्छ त्यसैले म मेरो समुदायलाई कोरानाबाट जोगाउनका लागि परिवारको साथ चाहिन्छ भन्दै सम्झाएँ र त्यहि वेला ढोरपाटन रेडियोले समाचार भन्यो कि बडिगाड गाउँपालिकामा दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भनेर जसमध्ये एक जना भाइ मेरै वडाको छिमेकी भाइ थियो । परिवारमा झन त्रास फैलियो तर परिवारलाई सम्झाई बुझाई म मेरो काममा लागिपरे ।
मेरो दैनिकी बडिगाड गाउँपालिकाको कोरोना नियन्त्रण कार्यमा बेथित हुन थाल्यो । म बिहानै घरदेखि वडा कार्यालय र वडा कार्यालय देखि गाउँपालिका हुँदै बडिगाड गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनहरुको अवलोकन तथा आवाश्यक रहेको खण्डमा नयाँ क्वारेन्टाइन समेत निर्माण गर्नुपर्दथ्यो । म सधैं बाईकमा यात्रा गर्दथे । यात्राको क्रममा बाटोमा भेटिने साथभाई र ईष्टमित्रहरुले देख्नेबित्तिकै मलाई पनि लैजानुसन तल सम्म भन्दै बाईकमा चढ्ने गर्दथे तर विस्तारै मानिसहरु मेरो बाईकमा चढ्नेकोत कुरै छोड्नुहोस अध्यक्षको बाईकलाई छुनु हुँदैन कोरोना छ भन्न थाले तर मैले त्यो कुरालाई गम्भीरतापूर्वक नलिई सधैं हाँसोको रुपमा ग्रहण गर्दै सामाजिक दुरि कायम गरि निरन्तर काममा अगाडि बढे ।
बिदेशबाट बिशेष गरि भारतबाट नेपाल आउने दाजुभाइ तथा दिदिबहिनिहरुको संख्या क्रमश बढ्दै गयो र बडिगाड गाउँपालिकामा संक्रमित व्यक्तिहरुको संख्यामा समेत क्रमशः बृद्धि हुन थाल्यो संक्रमित व्यक्तिहरुलाई धवलागिरी अञ्चल हस्पिटल बागलुङ र बुर्तिवाङ प्राथमिक हस्पिटलको आईसोलसनमा उपचारको लागि लगियो र क्रमशः संक्रमित व्यक्तिहरु निको भई आफ्नो घर फर्कने क्रम बढ्यो तर समुदायले कुरा नबुझ्दा र समुदायलाई कुरा नबुझाउँदा कोरोना संक्रमित व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक देखियन ।
मोवाईलमा घण्टि बज्न थाल्यो सर हामिलाई समुदायले तिरस्कार गर्यौ । मलाई यसो भन्यो, मेरो परिवारलाई यसो भन्यो भनेर गुनासो गर्न थाले र मैले फोनबाट अथवा प्रत्यक्ष आफै उपस्थिति भएर समुदायलाई सम्झाउने र बुझाउने काम समेत गरे र सम्झाउने क्रममा भन्ने गर्थे मलाई त कोरोना लागेको छ कि नाई मलाई थाहा छैन तर मेरो बाईकलाई सबैले कोरोना लागेछ भन्छन म यसैमा यात्रा गरिराछु । पहिला सबैजना मेरो बाईकमा चढ्थे अहिले कोहि पनि चढ्दैनन् भन्दा सबै हाँस्थे ।
म आफु जहिले पनि सुरक्षित हुने कोशिस गर्थे र माक्स, सेनिटाईजरहरुको नियमित प्रयोग गर्दै सामाजिक दुरि समेत कायम गर्दथे तर म आफु कसरि संक्रमित भए भन्नेमा म आफुमानै अन्योल सिर्जना भएको छ । मिति २०७७(०४(३१ गतेका दिन बिहान घरको काम गर्दै थिए सोहि समयमा दर्लिङ स्वास्थ्य चौकिका प्रमुल दिलु केसीसरले फोन गर्नुभयो र मैले कल उठाए र उहाँले भन्नुभयो सर हजुरलाई थाहा छ कि नाई ? वडा अध्यक्ष मौसम दाईलाई कोरोना संक्रमण पुष्टि भयो ।
हजुरलाई केही लक्षण छ कि नाई ? तपाई मौसम दाइसँग कत्तिको नजिक हुनुहुन्छ ? जस्ता प्रश्न गर्नुभयो म एकछिन स्तब्ध भए र जवाफ दिए मत प्रायजसो उहाँसग सँगसँगै छु अनि आज मेरो हल्का घाँटी पनि दुखेको छ भन्दै फोन राखे । छिटोछिटो गरि काम भ्याए र उक्त कुरा परिवारमा पनि जानकारी बनाए र मलाई लाग्यो कि मलाई पनि पक्कै कोराना लागेको छ किनकि सामान्य घाँटी पनि दुखेको छ र मौसम र म बैठकमा पनि सँगै, खाजा खानेपनि सँगै अनि म उहाँको कार्यालयमा जाने र उहाँ मेरो कार्यालयमा आउने क्रम प्राय भईनैराखेको थियो । म ठिक १० बजे गाउँपालिमा पुगे र सो कुरा मैले गाउँपालिकामा पनि जानाकारि बनाए र सोहि दिन पिसीआर परिक्षणकाका लागि स्वाव दिए र घरमा आई ५ दिन सम्म होम क्वारेन्टाईनमा बसे ।
मिति २०७७(०५(०३ गतेका दिन बेलुका मलाई कोरोना संक्रमण पुष्टि भएको खबर आयो । एकछिन त म धेरै आत्तिय घरमा आमा झन धेरै आत्तिनु भयो । मोवाईलमा साथिभाई, ईष्टमित्र र आफन्तजनहरुको कल आउन थाल्यो तर म आफुलाई सम्हालि हिम्मत गरेकि मलाई केही भएको छैन भनेर किनकि मैले स्वाव दिदाको दिन सामान्य घाँटी दुखेको थियो र सोहि दिन बेलुका घाँटी दुखेको औषधि खाए पश्चात मेरो घाँटी निको भईसकेको थियो । मलाई ज्वरो, रुघा, खोकि केही पनि लक्षण थिएन ।
सबैको फोन उठाउँदै आफ्नो अवस्था सामान्य रहेको बताए तर फोन अलि बढिनै आउन थालेपछि फोन अफ गरि त्यो रात घरमै रेस्ट गरे । बिहानै उठे बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक चुडामणि कडेल सरलाई कल गरे र एम्बुलेन्स पठाईदिन आग्रह गरे एकछिन सोचे मलाई केही पनि समस्या छैन घरमै बस्नुपर्छकि क्याहो भनेर तर फेरि सोचे होईन भोलि फेरि समुदायमा यहि कुराले भ्रम सिर्जना हुन्छ । आफुलाई लाग्दा घरमा बस्छ अुरुलाई हस्पिटल पठाँउछ भन्छन भन्ने समेत सोचे । एकछिनमा गाउँपालिकाबाट अनोज केसी भाईले एम्बुलेन्स लिएर आए र म २०७७(०५(०४ गते दिउँसो १२ बजे धवलागिरि अञ्चल हस्पिटल बागलुङ आईपुगे ।
अहिले म धवलागिरि अञ्चल हस्पिटलको आईसोलेसन वार्डको सी ७ मा बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । मलाई कुनै पनि प्रकारको लक्षण देखिएको छैन । यहाँ बसिरहँदा मेरो दिनहरु अधिकांस समय किताब पढेर वितेको छ भने बाँकि समय सामाजिक संजाल हेर्ने, एफ एम सुन्ने र घरपरिवार, साथिभाई र आफन्तजनहरु सँग फोनमा बोलेर समय बेथित भएको छ ।
अहिले नेपालमा कोरोनाको संक्रमणको दर बढ्दो क्रममा रहेको छ । धेरै ठाउँहरुमा स्वास्थ्यकर्मीहरुलाई समाजमा दुव्र्यवहार गरेको र कोहि ठाउँमा बिरामिहरुलाई स्वास्थ्यकर्मीले वास्ता नगरेको समाचारहरु विभिन्न सामाजिक संजाल मार्फत आईरहँदा यहाँ म बसेको ठाउँमा भने स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमित व्यक्तिहरु सँग गर्ने व्यवहारले म आफु धेरै खुशी छु र स्वास्थ्यकर्मीहरुलाई हार्दिक सम्मान व्यक्त गर्न चाहान्छु ।
यहाँको बसाई व्यवस्थापन र स्वास्थ्यकर्मीहरुको व्यवहार सहरानिय छ भने खाना व्यवस्थापनको पक्षमा तुलनात्मक रुपमा कमजोर देखिन्छ । कोरोना संक्रमित व्यक्ति यहाँ आएर बसे पश्चात कुनै पनि प्रकारको लक्षण छैन भने औषधि नमिल्दो रहेछ । अहिले सम्म मैले औषधि खाएको छैन । यो रोगको उपचार भनेको स्वास्थ्यकर्मीको निगरानिमा खानपानमा विशेष ध्यान दिई संक्रमितको सरिरमा रोग सँग लड्ने प्रतिरोधात्मक क्षमताको वृद्धि गरि संक्रमण मुक्त हुन सकिदो रहेछ ।
कोरोना भाईरसको यस्तो विषम परिस्थितिमा पनि केन्द्र देखि स्थानिय तह सम्मनै कोरोना भाईरसलाई समेत राजनितिकरण गरिएको र एक अर्कामा आरोप प्रत्यारोप गरेको समाचारहरु आफुले पढ्दै र सुन्दै आएको तर अहिले आफु संक्रमित हुँदा त्यो अनुभव प्रत्यक्ष अनुभव भएको छ । आज म संक्रमित भए भोलिका दिनहरुमा हजुरहरु संक्रमित हुन पनि सक्नुहुन्छ ।
आज म संक्रमित हुँदा धेरैको मायाँ र साहानुभुति पाएको छु तर दुखका साथ भन्नुपर्छ आफ्नै गाउँका केही युवाहरु जो आफुलाई समाजको धेरै बुद्धिजीवी, समाजसेवि, शिक्षित र केहिले त आफुलाई सफल पत्रकार हुँ भन्ने सोच सम्म राख्न पछि नपर्नेहरुले राजनितिक प्रति सोधको भावना राखि कोरोनालाई कांग्रेस र कम्युनिष्ट भनी छुट्याउन खोजेको देख्दा दुःख लागेको छ । त्यहि एम्बुलेन्सले पटक पटक कोरोना लागेका व्यक्तिलाई बोक्दा समाचार नवन्ने तर आज दुई जना वडा अध्यक्षलाई बोक्दा समाचार बन्ने म आफु अचम्मित परेको छु ।
जसले राजनितिक पुर्वाग्रह राखि समाचार बनाउनुभयो र सामाजिक संजालमा रमाउनुभयो तपाईहरुलाई हार्दिक सम्मान छ । सामाजिक संजालमा प्रयोग गरिएको भाषा यस्तो थियो स्( समाजको अनेक रुप समाजसेवा जनप्रतिनिधि , यस्तो होला भन्ने कसले सोच्यो र । प्रहार भएको देख्दा पनि खाए जस्तो भयो । यी शब्द लेख्नेहरुले नाम टिकाएका छैनन् तर पनि अप्रत्यक्ष रुपमा जसले पनि बुझ्न सक्छ ।
सामाजिक संजालमा आफुलाई लक्षित गरि राखिएको पोष्ट प्रती म आफु गम्भीर भएको र दुःख पनि लागेको छ किनकि मैले सोचेको थिए यो समय मेरो र सिङ्गो समाजको लागि संवेदनशील समय हो सबैको ममा सहानुभुति रहन्छ तर केही व्यक्तिहरुको व्यवहार देख्दा दुस्ख लागेको छ । म आईसोलेसनमा छु घर देखि फोन आउँछ अनि फोनमा नानि बावुहरु पनि वोल्छन र मलाई भन्छन बाबा हामीलाईत सबैले यता नआउ भन्छन किनहो भनेर सोध्छन पीडा हुन्छ अनि सम्झाउछु उनिहरुले खेलठट्टा गरेका हुन बाबु भन्छु र म आफु छिट्टै आउछु भन्ने गरेको छु ।
निष्कर्ष ः विश्वव्यापी रुपमा कोरोना भाईरस जसरी फैलिरहेको छ र जनमानसमा जसरी भ्रम सिर्जित भएको छ यसैको आधारमा समाज अगाडि बढ्ने हो भने अबका दिनमा कोरोनाले भन्दा पनि कोरोनाको त्रास र भ्रमले ज्यान नजाला भन्न सकिन्न । त्यसैले तपाईं हामी सबैले आफ्नो स्वास्थ्यको ख्याल गरौं, सामाजिक दुरि कायम गरौं, माक्स र सेनिटाईजरको अनिवार्य रुपमा प्रयोग गरौं, साबुनपानीले मिचिमिचि हात धुने गरौं, खानपानमा विशेष ध्यान दिने गरौं र समाजमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई राम्रो व्यवहार गर्ने बानिको विकास गरौं आफु पनि बाँचौं र अरुलाई पनि बचाउँ ।







