सागर भण्डारी गुल्मी । गुल्मीमा कोरोना रोकथामका लागि सीमा नाकामा कडाई गरिएको छ । कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि जिल्लामा भित्रिने सीमा नाकाहरु , रिडी , हर्मिचौर , पुर्तिघाट , वामी , नेटा , सौतामारे लगायतका स्थानहरुमा कडाई गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।
त्यी नाका भएर जिल्ला भित्रिनेहरुले अनिवार्य रुपमा पीसिआर परिक्षण गरेको रिपोर्ट हुनुपर्ने नभए अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने ब्यबस्था गरिएको छ । जिल्लामा लुकीछिपी आउने र क्वारेन्टाइनबाट भाग्नेलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । यस्तै दुग्ध ब्यबसाय बिहान नौ बजेदेखी ११ बजेसम्म , साँझ ४ बजेदेखि ६ बजेसम्म संचालन गर्न दिने बताईएको छ ।
तरकारी र फलफूल पसलहरु बिहान ७ देखि ९ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म संचालनमा आउने भएका छन् भने अन्य पसल उद्योगहरु बिहान १० देखि साँझ ५ बजेसम्म संचालनमा रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । यदि कसैले जिल्ला प्रशासनको निर्णय अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धब पन्थीले जानकारी दिनुभयो ।
त्यस्तै सबै प्रकारका भेला, गोष्ठी सेमिनार गर्न नपाईने,अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने र निस्कन परे आवश्यक परिचयपत्र बोकेर हिँड्ने, त्यस्तै धार्मिक स्थलहरु मन्दिर, पौवा, मस्जिद, चर्च, मदरसा लगायतका क्षेत्रमा भेला हुन नपाईने र घर भित्रै पुजा आजा गर्नुपर्ने बताईएको छ । त्यस्तै आयोजना स्थलमा, उद्योगधन्दा तथा विकास निर्माणका कार्यहरु गर्दा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी शर्तहरु पानला गर्न, र सरकारी कार्यालय,बैकं तथा वित्तिय संस्थामा ५० प्रतिशत मात्रै कर्मचारी राखेर कार्यसम्पादन गर्न आग्रह गरिएको छ ।