प्रेम सुनार,गुल्मी । जिल्लाको इस्मा गाउँपालिकाको केन्द्र चारैतिरका इस्मावासीलाई पायक पर्ने स्थानमा राख्नुपर्ने माग गर्दै आईतबार नेकपाको स्थानीय पार्टी कार्यालय,वडा कार्यालय र इस्मा गाउँपालिकामा बिरोध प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) निकट युवा सङ्ग नेपाल इस्मा वडा नम्बर ३ दर्लामचौर वडा कमिटीले बिरोध प्रदर्शन गरेको हो । सो कमिटीको आयोजनामा भएको बिरोध प्रदर्शन कार्यक्रममा दर्लामचौरका बासिन्दाहरुले ठाडुङ्गामा रहेको नेकपाको वडा कमिटीको कार्यालय घेराउ गरि इस्मा गाउँपालिकाको कार्यालय इस्माको भौगोलिक केन्द्र बिन्दुमा राखिनुपर्ने माग पत्र वडा कमिटी अध्यक्ष प्रेम भुसाल र सचिव मिना महतलाई हस्तान्तरण गरेका थिए ।
इस्माको केन्द्र सबैलाइ पायक पर्ने स्थानमा राखिनुपर्ने तर केही दिन अघि नेकपाको जिल्ल्ला कमिटीले तल छिनुवा देखि आमवोटसम्म राख्ने गरेको निर्णय मान्य नहुने भन्दै चर्को बिरोध गरिएको थियो । इस्माको केन्द्र भौगोलिक रुपमा सबैलाइ पायक पर्ने स्थानमा राखिनुपर्ने अन्यथा कडा संघर्षमा उत्रिने भब्दै रामकोटका ज्योती कुवरको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ ।
नेकपा दर्लामचौरका वडा कमिटी अध्यक्ष प्रेम भुसालले चापटारी , छिनिवा जस्तो अपायक पर्ने स्थानमा केन्द्र राख्न नेकपा जिल्ला कमिटीले दिएको सुझाव अधिकांश ईस्माबासीलाई मान्य नहुने धारणा व्यक्त गर्नुभएको थियो । लगत्तै वडा नम्बर ३ को कार्यालय अगाडि छिनुवामा केन्द्र राख्ने विरुद्ध बिरोध प्रदर्शन गरिएको धियो । आन्दोलनकारीले वडाध्क्ष तोयनाथ सापकोटालाई ज्ञापन पत्र बुझाउदै इस्माको भौगोलिक केन्द्र बिन्दुमा केन्द्र राखिनु पर्ने माग गरेका थिए ।
वडाध्य्क्ष सापकोटाले वडावासीको अभिमतलाइ सम्मान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । आन्दोलनकारिहरुले ठाडुङ्गा देखि अस्थायी केन्द्र रहेको दोबाटो सम्म मोटर साइकल र्याली गर्दै इस्मा गाउँपालिका घेराउ गर्दै बिरोध प्रदर्शन गरेका थिए । उनिहरुले इस्मा गाउँ पालिका अध्यक्ष लक्ष्मण बिष्टलाई पनि ज्ञापन पत्र बुझाएका थिए । गाउँपालिका अध्यक्ष बिस्ट्ले पैदल हिडेर सेवा लिन सकिने गरि जनता सवैलाइ पायक पर्ने स्थानमा इस्माका जनप्रतिनिधिहरुले केन्द्रमा आफ्नो मत जाहेर गर्ने आफुले अपेक्षा राखेको बताउनुभयो । नेकपा इस्मा गाउँ कमिटी अध्यक्ष नारायण पैयानीले ज्ञापन पत्र जिल्ला कमिटीमा पुराउने बताउनुभएको थियो ।
कार्यक्रममा वडा कमिटी अध्यक्ष प्रेम भुसाल , सयोजक ज्योती कुवर, युवा संघ दर्लामचौरका पुर्ब अध्यक्ष कृष्ण पान्डे , पत्रकार तिलक महत , नेकपा इस्मा गाउँ कमिटी सदस्य कल्पना अधिकारी र नेकपाका सदस्य राम बहादुर नेपालीले मन्तब्य व्यक्त गर्नुभएको थियो । साउन ३१ गते नेकपा जिल्ला कमिटीले छिनुवा र आमबोट्मा इस्माको केन्द्र राख्न सुझाव दिएपछि इस्मावासी तरङ्गित भएका छन । हाइवेको सुबिधा रहेको स्थानमा केन्द्र राखिनु उचित भएको नेकपा इस्माका केही नेताहरुको ठहर छ भने नेकपा कै अधिकांस नेता कार्यकर्ताहरु त्यसको विरुद्धमा यसरी आन्दोलित भएका छन । नेकपा जिल्ला कमिटीले उक्त निर्णय सम्शोधन नगरे कडा आन्दोलनमा उत्रिने संघर्ष समिती सयोजक ज्योती कुवरले चेतावनी दिनुभयो ।