पाल्पा, सुमित्रा कंडेल: पाल्पामा पछिल्लाे समयमा कोरोना संक्रमण विस्तारै समुदायतर्फ देखिदैँ गएको छ । पहिलो पटक तानसेनको मुख्य बजार विशालबजारस्थित समुदायमा रहेकी महिलामा देखिएको कोरोना संक्रमण जिल्लाको विभिन्न स्थानमा समेत देखिन थालेको हो । यसअघि भारतसहित विदेशबाट स्वदेश फर्किएकामा मात्र कोरोना संक्रमण देखिएकोमा गत साउन २७ गतेदेखि विस्तारै समुदायमा पनि कोरोना संक्रमण देखिएको हो । पाल्पामा हालसम्म तानसेनमा २, तिनाउमा १ र रम्भामा २ जना गरी ५ जना समुदायमा बसोबास गर्ने व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण रोक्नका लागि लकडाउन, निषेधाज्ञा, विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्ने जस्ता काम भएपनि पाल्पामा कोरोना अब विस्तारै समुदायमा फैलिएको पुष्टि हुँदै गएको छ । आइतबार मात्र रम्भा गाउँपालिकाका दुई जना समुदायमा रहेका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले पुष्टि गरेको छ । समुदायमा कोरोना संक्रमण देखिएपनि कहाँबाट फैलियो भन्ने विषयमा भने हालसम्म कुनै यकिन जानकारी पत्ता लाग्न सकेको छैन ।
तिनाउमा होटल व्यवसाय गर्दै आएकी महिलामा कोरोना संक्रमण देखियो भने तानसेनको विशालबजार र पिपलडाँडाकी महिलामा लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा देखिएको थियो । यस्तै रम्भाका १ जना पुरुषमा समेत लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा कोरोना संक्रमण देखिएको छ । रम्भाकै अर्का एक जना भने भरतपुर अस्पतालमा उपचाररत छन् । पाल्पामा हालसम्म फ्रन्ट लाइनमा काम गर्दै आएका मानिसमा भने कोरोना संक्रमण देखिएको छैन । तर समुदायमा विभिन्न रोगसँग लडिरहेका मानिसमा भने कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । पाल्पामा हालसम्म समुदायमा कोरोना संक्रमण फैलिएको जाँच गर्न करिब एक हजार मानिसको पीसीआर परीक्षण भएको छ । त्यसमध्ये १ जनाको मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको छ । अन्य समुदायका कोरोना संक्रमण देखिएका अन्य चार जनाको भने उपचारको क्रममा लक्षण देखिएपछि पीसीआर गरिएको थियो । समुदायमै रहेकी तानसेन–८, पीपलडाँडाकी 3० वर्षिया महिलाको भने उपचारको क्रममा निधन भईसकेको छ । उनी मुटु रोगी समेत रहेकी थिइन् । पाल्पामा हाल सम्म ५ सय ८२ जनामा काेराेना संक्रमण भएकाे छ भने ५ सय ६२ जना निकाे भएर घर फर्किएका छन् ।