सुमित्रा कंडेल : पाल्पामा निषेधाज्ञाका बेला सिद्धार्थ राजमार्गको खाल्डाखुल्डी पुर्ने काम भएको छ । तानसेनदेखि तम्घास जाने सडकका विभिन्न स्थान तथा सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुर्ने काम भएको हो । निषेधाज्ञाका बेला सडकमा सवारीसाधन गुड्ने संख्या न्युन हुने र काम गर्न सहज हुने भएकाले खाल्डाखुल्डी पुर्ने काम भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । विगत दुई वर्षदेखि सडकमा परेको खाल्डाखुल्डीका कारण तानसेनका विभिन्न सडकमा खाल्डाखुल्डीले सडकमा यात्रा गर्न असहज भएको थियो । खाल्डाखुल्डी पुरेपछि यात्रा गर्न सहज भएको यात्रुहरुले बताएका छन् । तानसेनको होलाङ्दी, बारुदखान, बसपार्क, लहरेपीपल क्षेत्रको खाल्डो पुरिएको छ । यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेनदेखि बर्तुङ्–बुटवलसम्मको खाल्डाखुल्डीमा कालोपत्रे गर्ने काम भईरहेका सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनुभयो ।
उहाँले सडक कार्यालयकै पहलमा सिद्धार्थ राजमार्गको बर्तुङ् देखि झुम्सासम्मको खाल्डाखुल्डी पुरिने बताउनुभयो । सडक कार्यालयको परिमाण अनुसार तानसेन–तम्घास क्षेत्रको सडकमा भएका खाल्टा समेत पुरिने उहाँले बताउनुभयो । लकडाउन तथा निषेधाज्ञाका बेला सडक मर्मतसंभारको काम गरेकोमा नागरिकले समेत खुसी व्यक्त गरेका छन् । मान्छेले सडकमा जथाभावी खन्ने, पाइप गाड्ने, छतबाट पानी खसाल्ने, सडक छेउमा जथाभावी खन्नाले तानसेन क्षेत्र र सिद्धार्थ राजमार्गका विभिन्न स्थानका सडकमा खाल्डाखुल्डी परेकाे थियाे । यस्तै अत्याधिक लाेडका सवारीसाधन गुड्दा, क्षमताभन्दा बढी भार बाेकेका ट्रिपर गुड्दा समेत सिद्धार्थ राजमार्ग ध्वस्त भएकाे थियाे । यसलाइ सुधार गर्न सरकारले हरेक वर्ष कराेडाैँ रकम खर्च गरिरहेकाे छ । निषेधाज्ञाका बेला सडक मर्मत गर्न जिल्ला प्रशासन कार्यालय पाल्पा र सराेकारवाला निकायले सडक कार्यालयलाइ ध्यानाकर्षण गराएका थिए ।