बाग्लुङ । गण्डकी प्रदेश सरकारले बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितलाई अस्थायी बसोबासका लागि तत्काल एक लाख रुपैयाँ दिने भएको छ । पीडितले आफ्नै जग्गा तर सुरक्षितस्थलमा घर बनाएमा प्रदेश सरकारले एकलाख रुपैयाँ आर्थिक सहयोग गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
मुख्यमन्त्री गुरुङ र प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान आज हेलिकप्टरमा घट्नास्थल पुगेर पीडितहरुलाई सहयोग गर्ने बताउनुभएको हो । उहाँहरुले नयाँ घर नबनुञ्जेल पीडितलाई अस्थायी बसोबासमा नगरपालिकासँगको समन्वयमा सहयोग गर्ने पनि बताउनुभयो । सोही अवसरमा मृतक परिवारलाई जनही ५० हजार रुपैयाँका दरले १४ परिवारलाई राहत रकम वितरण गर्नुभएको थियो । सनाखत हुन बाँकीको हकमा सनाखत भएपछि उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय बागलुङलाई रकम दिइएको गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले बताउनुभयो ।
खाद्यान्न नगरपालिका लगायत अन्य संघसंस्था र व्यक्ति विशेषले पनि दिएकाले टेन्ट, म्याट्रेस र प्राथमिक उपचारका सामाग्री उपलब्ध गराइएको थियो । ४० परिवारलाई भाँडाकुँडाको सेट उपलब्ध गराइएको थियो । बाढीपहिरोले क्षतिग्रस्त लघु जलविद्युत र सडक निर्माण जतिसक्दो चाँडो गरिने मुख्यमन्त्री गुरुङले बताउनुभएको छ ।