वडिगाडको पहिरोमा वेपत्ता युवाको शव भेटियो !

वडिगाडको पहिरोमा वेपत्ता युवाको शव भेटियो !

Badigad Online
2 Min Read

बागलुङ – बागलुङको वडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ गएको पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शुक्रबार बिहान पहिरोमा परी बेपत्ता भएका दर्लिङको निगलपानीका ३५ वर्षिय दानबहादुर घर्ती मगर शव फेला परेको हो ।

उनलाई बारीमा काम गरिरहेको अवस्थामा पहिरोले पुरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए । बेपत्ता मगरलाई खोजीकार्यका लागि भिमगिठे प्रहरी चौकीबाट दर्लिङ पुगेको प्रहरीको टोलीले उनको शव फेला पारेको हो । बारीमा रहेका मगरलाई पहिरोले पुरेको भएपनि अन्य कुनै क्षति नभएको प्रहरी निरीक्षक हेम केसीले बताए । उनको शव बुर्तिबाङ प्रथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाईएको छ ।

यस्तै, बागलुङकै ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङमा गत भदौ १७ गते आएको बाढीपहिरोमा बेपत्ता भएका १६ जनाको शुक्रबार पनि प्रहरीले खोजी गरेको छ । शुक्रबार अबेरसम्म बेपत्ता कोही पनि नभेटिएको प्रनि केसीले बताए । यसअघि पहिरोमा बेपत्ता भएका ३८ जनामध्ये २२ जनाको शव फेला परेको थियो । यता, जिल्लाको जैमिनी नगरपालिका वडा नं. ७ जैदीमा चार घर पहिरोको उच्च जोखिममा परेका छन् । अत्याधिक वर्षासँगै घरछेउमा पहिरो खसेपछि जैदीका शेरबहादुर राना, इन्द्र राना, मिम राना र पर्वे रानाको घर जोखिममा परेको हो ।

बारीको छेउछाउमा रहेका केही गोठसमेत पहिरोको जोखिममा रहेको पत्रकार दिपेन्द्र परियारले बताए । केही दिनदेखि निरन्तर परिरहेको वर्षाले बागलुङका विभिन्न क्षेत्रमा स्थानीय प्रभावित भएका छन् । स्थानीय सडकहरुको ठाउँ ठाउँमा पहिरो खसेका कारण आवतजावतमा समस्या भएको स्थानीय पालिका प्रमुखहरुले बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित