सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकामा कोरोना रोकथाम र व्यवस्थापनका विषयमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारीता प्रदान गर्ने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस समुदायस्तरमा फैलिन थालेपछि रोकथामका उपाय र स्वास्थ्यकर्मीले पुरा गर्नुपर्ने दायित्वको विषयमा प्रशिक्षण गरिएको बताईएको छ । नगरपालिकाका १३ वटा स्वास्थ्यकेन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना रोकथाम र व्यवस्थापनका विषयमा गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले प्रशिक्षण दिनुभएको हो ।
४२ जना स्वास्थ्यकर्मी सहभागी प्रशिक्षण कार्यक्रममा पच्याले कोरोना भाईरसबाट बन्चे उपाय, आईसुलेसनको व्यवस्थापन, स्वाव सकंलन गर्दा ध्यान दिनुपर्ने कुरा र स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने कुराहरुका विषयमा प्रशिक्षण दिनुभएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो ।