डिबि खड्का गुल्मी । गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाले छ जना नगर प्रहरी नियुक्ती गरेको छ । गाउँपालिकाले एक जना हवल्दार सहित पाँच जवान नियुक्ती गरेको जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद दफा तीनको ११ –क अन्र्तगत रहि आफ्नो अधिकार प्रयोग गदै गाउँपालिकाले नगर प्रहरी नियुक्ती गरेको हो । स्थानीय तहमा सुरक्षा व्यवस्थापन, अपराध न्युनीकरण,राजस्व संकलन , विपद व्यवस्थापनमा सहजिकरण ,गाउँपालिकाका नीति तथा कार्यक्रमको कार्यन्वयन जस्ता कार्य गर्ने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ का वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिनुभयो ।
बुधवार एक कार्यक्रमका बिच गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले नगर प्रहरीलाई नियुक्ती पत्र हस्तान्तरण गर्नुभएको हो । त्यस्तै गाउँपालिका अध्यक्ष रित बहादुर थापा र इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पंकज चुदारीले दर्जानी चिन्ह प्रदान गरेको सुचना अधिकृत जगत पौडेलले जानकारी दिनुभयो ।
नगर प्रहरी नियुक्तीले नागरिकको जिउधनको रक्षामा टेवा पुग्ने गाउँपालिकाले अपेक्षा राखेको छ । गुल्मीमा नगर प्रहरी नियुक्ती गर्ने स्थानीय तहमा मालिका गाउँपालिका तेस्रो हो । यस अघि रेसुंगा नगरपालिका र धुर्कोट गाउँपालिकाले नगर प्रहरी नियुक्ती गरिसकेका छन् ।