अमेरिकामा ट्रम्प सरकारलाई ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट निकाला गर्न मिल्ने बाटो खुलेको छ । यसरी देश निकाला हुनेमा नेपाल, एल साल्भाडोर, हाइटी, निकारागुआ, सुडान र होन्डुराससहितका १० देशका आप्रवासी रहेका छन्। न्यूयोर्क टाइम्सका अनुसार १५ हजार नेपालीसहित ४ लाखको हाराहारीमा टीपीएस अन्तर्गत अमेरिकामा आप्रवासीहरु बसोबास गरिरहेका छन्।यस अघि कानूनी जटिलता र मुद्दा विचाराधीन रहेका कारण ट्रम्पले टीपीएस सुविधा खारेज गरेर उनीहरुलाई देशबाट निकाल्न सकिरहेका थिएनन् । तर, सोमबारको अदालतको फैसलाले भने उनलाई आफ्नो पूरानो निर्णय कार्यान्वयन गर्न बाटो खोलिदिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
आफ्नो देशमा गृहयुद्ध, प्राकृतिक विपत्ति लगायतका कारणले विभिन्न देशका नागरिकलाई अमेरिकामा कानुनी रुपमा बस्न र काम गर्न अनुमति दिन टीपीएसको सुविधा ल्याइएको थियो । यसै सुबिधा अन्तरगत २०७२ को विनाशकारी भूकम्पपछि अमेरिकाले नेपालीलाई पनि टीपीएस सुविधा दिएको थियो । अमेरिकाको नाइन्थ सर्किटको अपिल अदालतले २–१ को बहुमतले करिब ४ लाख आप्रवासीको अमेरिकामा कानुनी रुपमा बस्न पाउने अधिकारलाई खारेज गरिदिए संगै १५ हजार आप्रवासी नेपाली सहित ४ लाख आप्रवासीले अमेरिका बाट बिदा पाउने सम्भावना बढेको छ । यदि यी ४ लाख आप्रवासीले आफै अमेरिका नछाडे उनीहरुलाई डिपोर्ट गर्नसमेत अदालतले सरकारलाई अनुमति दिएको छ । अब ट्रम्प सरकारले के गर्ने हुन् त्यो हेर्न बाकि छ।