काठमाडौँ – कार्यकर्ता कुटपिटको विषयलाई लिएर विवाद हुँदा गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपको छानबिन गर्न कांग्रेसले माग गरेको छ । शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानले दिएको अधिकार प्रयोग गर्दा घटना घटेको भन्दै यस विषयमा ध्यानाकर्षण भएको कांग्रेसले बताएको छ ।
सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनको दुर्व्यवहारको घटनाप्रति प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराउँदै तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टीकरण माग गरेका छन् । ‘गुल्मी घटनाको यथार्थ छानबिन गरेर घटनाका दोषीलाई कारबाही गर्न कांग्रेस माग गर्दछ । साथै, यस्ता प्रकारका घटना दोहोर्याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
स्थानीय एक मुद्दामा केन्द्रीत रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने जाने क्रममा प्रहरीबाट बल प्रयोग भएको कांग्रेसले बताएको छ । पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति भुवन श्रेष्ठ माथि प्रहरीले दुर्व्यवहार गरेको विज्ञप्तिमा भनिएको छ । कान्तिपुर दैनिकबाट