बागलुङ : बडिगाड गाउँपालिका वडा नम्बर २ राक्सेमा सडक माथिदेखि पहिरो खस्दा मध्यपहाडी पुष्पालाल लोकमार्ग अवरुद्ध भएको छ ।
निरन्तर वर्षाले गर्दा जिमी भन्ने स्थानबाट खसेको पहिरोले खर्वाङ्गदेखि न्वारासम्मको सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको बडिगाड गाउँपालिका–२ का वडाध्यक्ष ढालप्रसाद सेरचनले जानकारी दिनुभयो । सोमबार साँझ खसेको पहिरोले स्थानीय विरबहादुर घर्ती, धनबहादुर थापा, दुर्गा अर्याल, जितबहादुर विक र गोविन्द अघिकारीको घरमा क्षति गरेको उहाँको भनाइ छ ।
पहिराले घरको पाली, गारो तथा छानोको भाग भत्काए पछि पाँच परिवार विस्थापित भएका छन् । उनीहरु आफन्तको घरमा बसेको वडाध्यक्ष सेरचनले बताउनुभयो । लोकमार्ग अवरुद्ध भए पछि बुटवल, पोखरा, बागलुङ बजार हुँदै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको लागि छुटेका सवारी बिचबाटोबाटै फिर्ता भएका छन् । अहिले विहान गाउँपालिकाको डोजर प्रयोग गरेर पन्छाउने काम भईरहेको बताईएको छ ।