बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-७ बडिगाखोलाको कालीरहमा अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थको उत्खनन तथा संकलन गरिएको छ ।
नदीजन्य तथा खानी पदार्थको उत्खनन संकलन र बिक्री प्रक्रियाको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गर्दा निजी जग्गामा अवैध ढंगले ढुङ्गा, बालुवा तथा गिट्टी संकलन भएको भेटिएको हो ।
कानुनी प्रक्रिया पुरा नगरी डोजर प्रयोग गरेर वर्षा याममा बालुवा, गिटी, संकलन गरेको हुँदा ढुङ्गा गिटी तथा बालुवा उत्खनन विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम तत्काललाई संकलन भएको गिटी बालुवा विक्री वितरण तथा ढुवानी कार्यमा रोक लगाउने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
अनुगमन समितिले बडिगाड गाउँपालिकालाई वातावरणीय अध्ययन लगायत कानुनी प्रक्रिया पुर्याई ढुङ्गा गिटी बालुवा संकलन विक्री वितरण गर्ने व्यवस्था मिलाउने र उक्त व्यवस्था नभएसम्म नदीउत्खननका कुनै पनि गतिविधि गर्न निषेध गरेको छ । जिल्ला समन्वय समितिको प्रमुख तथा नदीजन्य पदार्थको उत्खनन, संकलन तथा विक्री वितरण सम्बन्धी जिल्ला अनुगमन समितिका संयोजक राजेन्द्र ढुङगानाको संयोजकत्वमा बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाका नदी तथा खोलाहरुको क्रसर, उद्योगहरु अनुगमन गरेको थियो ।
समितिले गलकोट नगरपालिका-६ दरमखोलामा नजिक संचालित सिद्धभैरव क्रसर उद्योग र गलकोट नगरपालिका-११ मा संचालित ढोरपाटन क्रसर उद्योग एण्ड कस्ट्रक्सन प्रा.लिलाई उद्योग संचालनको लागि आवश्यक काजगात पेश गर्न निर्देशन दिँदै काजगात उपलब्ध नभएसम्मको लागि तत्काल उद्योगका सम्पूणर् कार्य रोक्ने निर्देशन दिएको प्रजिअ न्यौनालेले बताउनुभयो ।
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन संकलन र विक्री सम्बन्धी प्रक्रियाको अनुगमन गर्ने जिल्लामा जिल्ला समन्वय प्रम्खको संयोजकत्वमा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति गठन गरिएको छ । समितिको सदस्यमा सम्बन्धीत स्थानीय तहको प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयको प्रमुख, जिल्ला स्थित सशस्त्र प्रहरी बलको प्रमुख, डिभिजन कार्यालयको प्रमुख, नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह अन्तर्गत जिल्लामा कार्यरत मध्यबाट समितिले तोकेको इन्जिनियर, आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालय वा सो नभएको हकमा कोष तथा लेखा नियनत्रण कार्यालयको प्रमुख र जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।
नविन शिशिरले गोरखापत्रमा समाचार लेख्नुभएको छ ।