कोभिड-१९ विरुद्धको नयाँ खोप झण्डै ९५ प्रतिशत प्रभावकारी रहेको पाइएको छ। अमेरिकी खोप निर्माता कम्पनी मोडर्नाले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार सो खोप ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको हो।
यसअघि फिजर कम्पनीले सार्वजनिक गरेको तथ्यांकले पनि सोही किसिमको नतिजा देखाएको थियो। यसबीच मोडर्नाको यो नतिजाले खोपको विकासपछि पान्डेमिकको अन्त्य हुने विश्वासमा अझ बल पुगेको छ।
दुवै कम्पनीले खोपको विकासका लागि उच्चस्तरको नवीन तथा प्रयोगात्मक पद्धतीलाई अपनाएका थिए। मोडर्नाले यसलाई ‘महान दिन’ भन्दै अबको केही हप्तामा खोपको प्रयोगका लागि स्वीकृति लिने योजना बनाएको समेत बताएको छ।
यद्धपि, यो नतिजा प्रारम्भिक भएकाले केही महत्वपूर्ण प्रश्नको जवाफ भने अझै आउन सकेको छैन।
कति राम्रो छ यो खोप ?
यो खोपको परीक्षण अमेरिकामा गरिएको थियो, जसमा ३० हजार मानिसहरु सहभागी थिए। जसमध्ये पनि आधालाई चार हप्ताको फरकमा दुई डोज खोप दिइएको थियो। र, बाँकीलाई नमुना खोप दिइएको थियो।
खोप परीक्षण गरिएका पहिलो ९५ जनाको नतिजाको आधारमा यो विश्लेषण आएको हो। जसमध्ये पाँच जनामा मात्रै कोभिड-१९ संक्रमण देखिएको थियो भने ९० जना नमुना खोप दिइएकामध्येका थिए। कम्पनीका अनुसार खोपले ९४.५ प्रतिशत सुरक्षा प्रदान गर्ने छ। खोपको परीक्षणका क्रममा कोभिड-१९ का ११ जटिल केस पनि थिए तर ‘इम्युनाइज्ड’ गरिएका कसैमा पनि त्यो देखिएन।
‘समग्र रुपमा खोपको प्रभावकारिता उल्लेखनीय छ……… यो एक महान दिन हो,’ मोडर्नाका प्रमुख मेडिकल अधिकृत टाल ज्याक्सले बीबीसीलाई बताए। ‘यो खवरले निकै खुसी तुल्यायो’, कम्पनीका प्रमुख डा स्टेफेन होगले भने, ‘मैले आशा गरेको थिइनँ, मलाई लाग्दैन कि हामीमध्ये कसैले पनि यो खोप ९४ प्रतिशत प्रभावकारी हुन्छ भनेर आशा गरेका थियौँ, यसले निकै आश्चर्यबोध बनायो।’
कहिलेसम्म आउँछ ?
यो कुरा चाहिँ खोप आवश्यक पर्ने व्यक्ति विश्वको कुन भाग छन् र कति वर्षको भए भन्नेमा भर पर्छ। अमेरिकाका आधिकारिक निकायले आगामी दिनमा यसबारे निर्णय गर्ने मोडर्नाले जनाएको छ। अमेरिकामा २० मिलियन (२ करोड) खोप उपलब्ध हुने अपेक्षा गरिएको छ।
अर्को वर्षसम्म विश्वभर प्रयोगको लागि एक बिलियन (एक अर्ब) खोप उपलब्ध हुने कम्पनीले आशा व्यक्त गरेको छ। अन्य देशमा पनि खोपको प्रयोग र उत्पादनको लागि स्वीकृतिको लागि तयारी गरिएको कम्पनीले बताएको छ।
खोप खरिदको लागि बेलायत सरकारले मोडर्ना कम्पनीसँग वार्ता गरिरहेको छ। बेलायत सरकारले यसअघि नै पनि ६ वटा खोपको अर्डर गरिसकेको छ। मोडर्नाले विकास गरेको खोप अर्को वर्षको वसन्त ऋतु अघि उपलब्ध हुने छैन।
यो खोप बारे अझै के कुरा थाहा छैन ?
खोपले कति लामो समयसम्म मानिसलाई भाइरसविरुद्ध सुरक्षित बनाउन सक्छ भन्ने अझै स्पष्ट भएको छैन। त्यसको लागि खोपको परीक्षण गरिएका स्वयंसेवकको लामो समयसम्म अध्ययन गर्नु पर्ने हुन्छ। यो खोपले कोभिडका कारण ज्यान जान सक्ने वृद्ध व्यक्तिहरुलाई केही सुरक्षा प्रदान गर्ने संकेत देखिएका छन्। तर, यसको पनि पूर्ण विवरण आउन बाँकी नै छ।
तर, मोडर्नाका प्रमुख मेडिकल अधिकृत ज्याक्सले बीबीसीलाई बताए अनुसार यो खोपको प्रभाव उमेरको आधारमा कम वा बढी भने हुने छैन। यो खोपले मानिसहरुलाई गम्भीर बिरामी हुनबाट मात्रै बचाउँछ वा सर्न पनि रोक्छ भन्ने कुरा पनि अझै खुलेको छैन। यी सबै सवालहरुले कोरोना भाइरस खोप कसरी प्रयोग हुनेछ भन्नेमा प्रभाव पार्ने बताइएको छ।
के यो सुरक्षित छ?
हालसम्म यसको कुनै पनि किसिमको गम्भीर साइड इफेक्ट देखिएको छैन। तर, यो कुरा पनि सत्य हो कि पारासिटामोल पनि सतप्रतिशत सुरक्षित हुँदैन। खोप दिइएका केही व्यक्तिमा छोटो समयका लागि थकान, टाउको दुख्ने तथा दुखाईको समस्या देखिएको थियो।
‘खोप दिइएका व्यक्तिहरुमा देखिने मुख्य असर भनेका यिनै हुने आशा गर्न सकिन्छ, त्यसको बदलामा राम्रो प्रतिरक्षा क्षमता पनि पाइनेछ,’ इम्पेरियल कलेज लण्डनका प्राध्यापक पिटर ओपेनसले भने।