बागलुङ : बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ स्थित ग्वालीचौर केशपोखरीमा भ्यू टावर निर्माण गर्न लागिएको छ ।
गण्डकी प्रदेश सरकारको रु. ५० लाख र गाउँपालिकाको रु. ५० लाख गरि १ करोडको लागतमा भ्यू टावर निर्माण गर्न लागिएको हो । २५ सय मिटर उचाइमा रहेको केशपोखरी भ्यू टावरको बुधवार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय विकास लम्सालले सिलन्यास गर्नुभएको हो ।
सिलन्यास कार्यक्रममा बोल्दै मन्त्री लम्सालले उक्त भ्यू टावर आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउनुभयो । प्रकृति सँग रमाउने पर्यटकहरुका लागि यस क्षेत्र अत्यन्तै महत्वपूणर् रहेको भन्दै मन्त्री लम्सालले यो पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने बताउनुभयो ।
यहा पर्यटक आवागमन जति वृद्धि हुन्छ, त्यतीनै आर्थीक गतिविधी बढ्दै जान्छ, यसको फाईदा तपाईहरुले नै लिने हो,” उहाँले भन्नुभयो ।पर्यटनको विकासले आर्थिक, सामाजिक, सांकृतिक लगायतका चौतर्फि उन्नति र प्रगतिको लागि टेवा पुग्ने मन्त्री लम्सालको भनाई थियो । उहाँले गण्डकी प्रदेश सरकारले नयाँ पर्यटकीय स्थलको पहिचान गर्दै तिनको पूर्वाधार निर्माणमा तिब्रताका साथ काम गरिरहेको समेत बताउनुभयो ।
संविधानसभा सदस्य नरवहादुर थापा, प्रदेशसभा सदस्य माननीय चन्द्र बहादुर बुढाले पर्यटनको माध्यम बाट यस क्षेत्रका नागरिकहरुको दैनिक जिवनयापनमा परिर्वतन ल्याउन सकिने बताउनुभयो । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले पर्यटकहरुका लागि प्राकृतिक र सांस्कृति रुपमा धनी यस क्षेत्र घुम्नका लागि खुल्ला गरिएको बताउदै गाँउपालिकालाई पर्यटनसँग जोडन भ्यू टावर निर्माण गर्न लागिएको बताउनुभयो ।
यस स्थान बाट प्यूठान, अर्घाखाची, गुल्मी, पाल्पा, रुकुम,रोल्पा र म्याग्दी जिल्लाका विभिन्न स्थानहरु सहित प्राकृतिक छटा तथा हिमशृखंलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । केशपोखरी भ्यू टावर मध्यपहाडी लोकमार्गबाट करिब २० कि.मी.उत्तर तर्फ पर्दछ । त्यहाँ पुग्ने पर्यटकले चमेरे र करुणा गुफाको अवलोकनका साथै मगर जातीको सांस्कृतिक कार्यक्रममा समेत रमाउन पाउने छन् ।