नवजात शिशु र मातृ मृत्युदर कम गर्न मुसिकोटमा पी एनसी घरभेट कार्यक्रम सुरु !

नवजात शिशु र मातृ मृत्युदर कम गर्न मुसिकोटमा पी एनसी घरभेट कार्यक्रम सुरु !

Badigad Online
4 Min Read

सागर भण्डारी,गुल्मी । पीएनसी घरभेट कार्यक्रम सम्बन्धी अभिमुखीकरण तथा सुक्ष्म योजना तर्जुमा गोष्ठी वामीटक्सारमा सम्पन्न भएको छ । मुसिकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका अन्तर्गत रहेका स्वास्थ्यकर्मीहरुलाई कार्यक्रमको महत्व र प्रभावकारीताका विषयमा जानकारी दिने उद्धेश्यले अभिमुखीकरण गरिएको हो ।

नवजात शिशु र मातृ मृत्युदर कम गर्न सुत्केरी भएको ७ दिनसम्म ३ पटक स्वास्थ्यकर्मीहरु घरमै गएर नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र आवश्यक पृष्ठपोषण दिन यस आर्थिक वर्षमा जिल्लामै पहिलोपटक मुसिकोट नगरपालिकाले पीएनसी भेटघाट कार्यक्रम सुरु गरेको छ ।

उक्त अवसरमा मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले पीएनसी घरभेट कार्यक्रमको महत्व, उद्धेश्य, मातृ मृत्युदरको अवस्था र सुत्केरी महिलाको घरमै पुगेर गरिने भेटघाटका अवसरमा स्वास्थ्यकर्मीले गर्नुपर्ने कार्यका विषयमा सहभागीहरुलाई प्रष्ट पार्नुभएको थियो । जिसीले नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सुधार गर्न पीएनसी कार्यक्रम अन्तर्गत अब प्रत्येक वडामा रहेको स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी बच्चा जन्मिएको २४ घण्टामा पहिलो पटक, ३ दिनमा दोस्रो पटक र ७ दिनमा तेस्रो पटक सुत्केरी महिलाको घरमै पुगेर स्वास्थ्य चेकजाँच गर्ने बताउनुभयो ।

यदी नगरपालिका भित्र रहेका स्वास्थ्य संस्था वा बर्थिङ् सेन्टरमा सुत्केरी भएमा पहिलो पीएनसी टेष्ट स्वास्थ्यचौकीमै हुने भएपनि घरमा बच्चा जन्मिएमा भने ३ पटकनै स्वास्थ्यकर्मी पुगेर नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्नेछन् । त्यस्तै अन्यत्त्र सुत्केरी भएको भएपनि अनिवार्य पीएनसी टेष्ट गरीने जिसीले बताउनुभयो ।

नेपालमा अधिकांश शिशु र मातृ मृत्युदर अज्ञानता, सामाजिक परम्परा, सुत्केरी भएपछि स्वास्थ्य चेकजाँच गराउनुपर्दैन् भन्ने मान्यता, पारिवारिक प्रतिबन्ध, यातायातको असुविधा तथा आर्थिक समस्या जस्ता कारणले हुने भन्दै यो कार्यक्रम मार्फत घरमै पुगी स्वास्थ्य सेवा प्रदान गरिने भएकाले मृत्युदर कम गर्न निकै सहयोगी बन्ने बताउनुभयो ।

मुसिकोट नगरपालिका स्वास्थ्य सह सयोंजक पुष्कर गौतमले आमा र बच्चा दुवैलाई स्वास्थ्य समस्या छ छैन भनेर पहिचान सगैं न्यूनिकरण गर्न यस कार्यक्रमले निकै महत्व राख्ने भन्दै एउटा वडाबाट कम्तीमा २ जना स्वास्थ्यकर्मी सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न घर घरमा पुग्ने बताउनुभयो । त्यस्तै उहाँले कार्यक्रम नयाँ भएपनि स्वास्थ्यकर्मीका लागि असहज नभएकाले पीएनसी चेकजाँच गर्न सके बाल मृत्युदर र मातृ मृत्युदर सजिलै कम गर्न सकिने पनि बताउनुभयो ।

कार्यक्रम सफल बनाउन कतिपय अवस्थामा नीतिगत निणर्य पनि गर्नुपर्ने भएकाले यसको प्रभावकारीताका लागि जनप्रतिनिधिको पनि उत्तिकै भुमिका रहने उहाँको भनाई थियो । मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले सुरक्षित मातृत्वसगैँ कार्यक्रमको सफलता प्राप्तिका लागि घर परिवार समाज र स्वास्थ्यकर्मी सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

साथै सापकोटाले कार्यक्रम सञ्चालनको अवधीमा बजेटको अभाव भएमा वा कुनै पनि नितिगत निणर्य गर्नुपर्ने अवस्था आएमा आफु सधै तत्पर रहने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रम प्रभावकारी बनाउन सम्पूणर् स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित नभई काम गर्न पनि आग्रह गर्नुभयो । मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले यो कार्यक्रम अत्यन्तै महत्वपूणर् रहेको भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रमुख प्रशाशकीय अधिकृत भुषालको अध्यक्षता रहेको कार्यक्रममा नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष पूणर् बहादुर हितान, ५ का वडाध्यक्ष भागिरथ खरेल, ७ का वडाध्यक्ष प्रकाश काफ्ले, वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा र वडा नं ९ का वडाध्यक्ष नरेशराज खरेल तथा नगरपालिका अन्तर्गत रहेका सम्पूणर् स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका स्वास्थ्य सहसयोंजक पुष्कर गौतमले गर्नुभएको थियो ।

पीएनसी घरभेट कार्यक्रम ४० जिल्लाका २ सय २९ स्थानीय तहमा सञ्चालित रहेको छ । नेपालमा हुने शिशु मृत्युदर मध्ये जन्मिएको एक घण्टाको अवधी भित्र १७ प्रतिशत, १ घण्टा देखि २३ घण्टा अवधीमा ४० प्रतिशत, ६ दिनको समयअवधी भित्र २२ प्रतिशत र ७ देखि २७ दिनको अवधी भित्र २१ प्रतिशतको मृत्यु हुने गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित