पत्याउनुहोस् : बागलुङमा एउटै बोकाको मूल्य ४ लाख !

पत्याउनुहोस् : बागलुङमा एउटै बोकाको मूल्य ४ लाख !

Badigad Online
5 Min Read

बागलुङ : एउटा बोकोको मूल्य कति पर्ला ? अधिकांशले हजारको हाराहारीमा मूल्य सुनाउने गर्छन् । तर यहाँको एक बोकाको मूल्य ४ लाख रुपैयाँभन्दा बढी तोकिएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडाका चिरन्जिबी केसीले ४ लाख रुपैयाँ तिर्ने आउँदा पनि बोका नबेचेका हुन् । ‘मैले अझै केही समय पाल्ने भनेर ४ लाखमा दिइन’ केसीले भने, ‘अर्को बोका किनेपछि साँढे चारलाख रुपैयाँ पाएमा मात्रै बेच्छु ।’ बोयर जातको यो बोकाको तौल १ सय २० केजीको छ ।

केसीले अन्य दुइ बोका किन्ने तयारी गरेका छन् । केसी आफै पशु प्राविधिक पनि हुन् । मौरीपालन व्यवसायबाट तीन वर्ष अघि केसीले बाख्रा पालनलाई व्यवसायिक बनाएका थिए । उनको खोरमा अहिले पनि १ सय बाख्रा छन् । स्थानीय खरि जातको बाख्रामा बोयरको क्रस गराएर उनले बाख्रा पालिरहेका हुन् ।

यो बोका ९० प्रतिशत क्रस बोका हो । यस्तो विधिले पाल्दा खरी जातको झै घा“स खाने, चर्न रुचाउने र तौल भने बोयरको जस्तै बढ्ने गरेको उनले अनुभव सुनाए । केन्द्रीय भेडाबाख्रा प्रवद्र्धन कार्यक्रम मार्फत तालिम पाएपछि ३ लाख लगानी गरेर २ वटा बोका किनेर गाउँ भित्राएका केसीले गाउँभरी व्यवसायिक बाख्रा पालनको लहर ल्याउन सफल भएका छन् ।

रायडाँडामा मात्रै अहिले १७ वटा बाख्रा फार्म संचालनमा छन् । ती मध्ये १० वटा खरी बाख्राका छन् भने ७ वटा बोयरका हुन् । सबै फार्मले क्रमश बोयर पनि सँगै पाल्ने तयारी गर्दैछन् । ‘बोयर जातको बाख्राकालागि हाडनाता लाग्ने गरी बोका लगाउनु हुँदैन, त्यसैले अब नयाँ बोका ल्याउने योजना छ’ उनले भने, ‘चितवन गएर नयाँ बोका ल्याउने तयारी छ, त्यतिबेला यो बोका बेच्नुपर्ला ।’ यहाँका सबै बाख्रा स्थानीय बजारमै खपत भैरहेको उनले बताए ।

बोयर जातमा बाख्राले एकैपटक बोका खोज्छन् । त्यसैले कम्तिमा दुइ देखि तीनवटा व्याडे बोका आबस्यक पर्ने उनले बताए । चितवन गएर दुइवटा बोका ल्याउने तयारी गरेकोले नयाँ बोका आउने पक्का भएपछि मात्रै उनले घरको बोका बेच्ने बताए ।

रायडाँडामा ५ वटा बाख्रा पालन समूह छन् । ती सबै समूहमा आबद्ध किसानकालागि केसीले प्राविधिक सहयोग गर्नुपर्छ । पालैपालो किसानको घरमा पुग्ने, दिउसो कार्यालयको काम गर्ने र बेलुकी आफ्नो घरको काम समेत उनले भ्याउने गरेको स्थानीय केयरसिंह थापाले बताए ।

‘रातीको १० बजेसम्म पनि उनले बाख्राको काम गरिरहेका भेटिन्छन्’ थापाले भने, ‘काम बिशेषले उनी कतै गए भने गाउँभरका किसानको काम रोकिन्छ ।’ सामान्य प्राविधिक काम भने केसीको भाइ दुर्गाले पनि सिकेका छन् । नियमित खोप, भिटामिन बितरण, बेलाबेला आउने अन्य समस्या समाधानकालागि केसी एक्ला प्राविधिक हुन् । एकगाउँ एक प्राविधिक कार्यक्रम मार्फत ६ बर्षदेखि उनी कार्यरत छन् ।

केसीको फर्मबाट मात्रै गत बर्ष १५ लाखको कारोबार भएको थियो । त्यसबाट ५ लाख नाफा कमाउन सकेको उनले बताए । वडा नम्बर ११ मा मात्रै वर्षमा १ करोडको बाख्रा कारोवार भएको उनले रेकर्ड निकालेका छन् । वडा कार्यालयको पशु प्राविधिक समेत भएकोले उनले हरेक महिना बाख्रा सहित पशुचौपायाको उत्पादनको तथ्यांक उनले निकाल्ने गरेका छन् ।

व्यवसायिक बाहेक घरायसी उपयोगकालागि पनि अधिकांसले १० देखि २० वटा बाख्रा पालेका छन् । वडा भरी ३ हजार ३ सय बाख्राको तथ्यांक निकालेको उनले बताए । केसीले अहिले सम्म खोर निर्माणमा ७ लाख लगानी गरेका छन् । बाख्राकालागि १४ लाख लगानी भैसकेको उनले बताए । अझै व्यवस्थित खोर निर्माण सक्न १० लाख लगानी गर्नुपर्ने उनले सुनाए ।

यहाँका किसानले जैबिक साना किसान कृषि सहकारी संस्थापनि स्थापना गरेका छन् । उक्त सहकारीले किसानलाई लगानी गरेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । किसानकोलागि लगानी गर्ने उद्देश्य राखिएकोले वडाका सबैलाई सहकारीको शेयर सदस्य बनाएर कृषि र पशुपालनमा लगाएको उनले बताए ।

‘भूगोलको कारण अन्य पेशा व्यवसाय संभव छैन, बाख्रापालन र तरकारी खेतीमा नगरपालिकाको पनि लगानी केन्द्रीत गरेका छौं’ उनले भने, ‘बजारको माग पुरा गर्ने र किसानको आयश्रोत बढाउने काममा सामुहिक पहल भएको छ ।’ केसीका अनुसार अहिले पनि महिनामा ४५ वटा खसी बागलुङ बजार र ४० वटा खसी पोखराको बजारमा खपत भैरहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित