ढोरपाटनमा भित्रिए दुई एम्बुलेन्स : चाहाना भए हुँदो त रैछ !

ढोरपाटनमा भित्रिए दुई एम्बुलेन्स : चाहाना भए हुँदो त रैछ !

Badigad Online
3 Min Read

बागलुङ, बाग्लुङको पश्चिम क्षेत्र बुर्तिबाङमा एम्बुलेन्स नहुँदा लामो समय स्थानीयहरुले निकै सास्ती खेपे । एम्बुलेन्स नभएकै पनि होईन् । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा रहेको एम्बुलेन्स बिग्रिएपछि धेरै लामो समयसम्म त्यस क्षेत्रका विरामीहरुलाई रिफर गर्न निकै समस्या रह्यो ।

वडिगाड गाउँपालिका कटेपछिका तीनवटै स्थानीय तहमा एम्बुलेन्स सेवा थिएन । ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाले महामारीको समयमा समेत छिमेकी पालिकाहरुको एम्बुलेन्सको सहयतामा काम चलाए । कतिपयले पिकअप भ्यानलाई कोरोना भाईरस संक्रमित बोक्ने अस्थायी एम्बुलेन्ससमेत परिचालन गरे ।

कोरोना महामारी सुरु हुनु पूर्व यहाँका आकस्मिक उपचार गराउनुपर्ने बिरामीहरु भाडाकै सवारीमा निर्भर रहे । ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स बिग्रेर थन्किएपछि सर्वसाधारण मर्कामा थिए । ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले स्थानीय तहको निर्वाचनका बेला भनेका थिए ‘ढोरपाटनमा एम्बुलेन्स ल्याउँछु, जसले स्वास्थ्य क्षेत्रमा धेरै सहज हुन्छ ।’

नेपालीले बाचा गरेको साढे तीन वर्षपछि व्यक्तिगत खर्चमा एम्बुलेन्स ल्याएका छन् । खरिद प्रक्रिया सकिएको भएपनि केही दिनमा नगर कार्यपालिकाको कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण हुनेछ । झण्डै ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा साढे ११ लाख रुपैयाँमा खरिद गरेर नगरपालिकालाई हस्तान्तरणको तयारी भैरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले बताए ।

‘एम्बुलेन्स र कागजात काठमाण्डौबाट आउँदै छन्, यहाँ आईपुग्दा हस्तान्तरण गर्ने तयारी छ’ उनले भने ‘जिल्लाको पश्चिमका लागि आवश्यक रहेको एम्बुलेन्स मेयर’सापले व्यक्तिगत खर्चमा खरिद गर्नुभएको हो ।’ ढोरपाटनले एम्बुलेन्स सञ्चालनमा ल्याएपछि छिमेकी पालिका तमानखोला र निसीखोलाका बिरामीलाई सहज हुने उनले बताए ।

नगर कार्यपालिकाले विधि बनाएर स्वास्थ्य शाखाअन्र्तगत एम्बुलेन्स सञ्चालनमा ल्याउने छ । नगरप्रमुख नेपालीले सामाजिक काममा व्यक्तिगत लगानी गर्ने गरेका छन् । दुई वर्षअघि नवीगाउँमा भएको आगलागीले जलेका ३५ घर नेपालीले व्यक्तिगत लगानीमा बनाईदिएका थिए । ‘नगरपालिकासँग स्रोत थिएन्, कुनै निणर्य पनि भएको थिएन्’ भट्टराई भन्छन् ‘यहाँको आवश्यकता महशुस गरेर प्रमुख ज्युले खरिद गरेको एम्बुलेन्स नगरपालिकाले नै परिचालन गर्ने हो ।’ एम्बुलेन्स आईतबारसम्म ढोरपाटन आईपुग्ने छ ।

कुनै समय एम्बुलेन्स नभएर छिमेकी पालिकालाई अनुरोध गर्ने ढोरपाटनले यसै साता अर्को एम्बुलेन्ससमेत पाएको छ । आइएमई गु्रपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रभु गु्रपका अध्यक्ष देवीप्रसाद भट्टचनको आर्थिक सहयोगमा रेडियो ढोरपाटनले एम्बुलेन्स खरिद गरेको छ ।

व्यवसायीद्वय ढकाल र भट्टचनले बिहिबार रेडियोका अध्यक्ष दोणर् कुँवरलाई काठमाडौँमा एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । शुक्रबार एम्बुलेन्स बागलुङ आईपुगेको छ । नेपाली कांग्रेस बागलुङ-२ को क्षेत्रीय समितिले पनि एम्बुलेन्सका लागि केही रकम जुटाएको अध्यक्ष कुँवरले बताए । नगरप्रमुख नेपालीले खरिद गर्ने बाचा गरेपछि पश्चिम बागलुङमा एम्बुलेन्स सेवा खड्कीरहेका बेला एम्बुलेन्स खरिदका लागि रेडियोले पहल अघि बढाएको थियो ।

रेडियो सञ्चालन गरिरहेको संस्था गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षामार्फत राजश्व छुटमा एम्बुलेन्स खरिद गरिएको हो । ४० लाख मूल्य पर्ने एम्बुलेन्स ११ लाख ५७ हजारमा खरिद गरिएको अध्यक्ष कुँवरले बताए । एम्बुलेन्स गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा संस्थामार्फत परिचालन हुने छ ।

ढोरपाटन न्यूजबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित