गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वामीटक्सारबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको लु ३ त ११०० नम्बरको ट्याक्टर चिउरी डाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मुसिकोट नगरपालिका वडा नं ५ की ३१ वर्षीय पार्वती बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए । त्यस्तै दुर्घटनामा इश्मा गाउँपालिका २ का चालक ३२ बर्षका कृष्ण कुमाल गम्भीर घाइते भएका छन् ।
उनको गुल्मी अस्पतालमा सामान्य उपचार पछि उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । कुमालको टाउको र शरिरको धेरै भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै घाईते मध्ये अर्का मुसिकोट नगरपालिका २ का २८ वर्षीय शिब मगरको घाँटीमा सामान्य चोट लागेको र उनको वामी स्वास्थ्य चौकीमा उपचार भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर अनियन्त्रित भई सडकदेखि ७०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।