सागर भण्डारी, गुल्मी । पछिल्लो समय युटुब लगायत अन्य सामाजिक सञ्जालमा निकै भाईरल बनेका गुल्मीका सचिन परियारको पहिलो लोकगीती सग्रंह सार्वजनिक भएको छ । गायनसगैं हास्यव्यङ्ग्यका कारण भाईरल बनेका परियारले पहिलो पटक आवाज दिएको गीत सार्वजनिक भएको हो ।
शनिवार सार्वजनिक भएको गीतको बोल ओठ खोलेर रहेको छ । गीतमा सचिन परियारसगैं पछिल्लो समय एक उदाहरणीय र सम्भावना बोकेकी बाल कलाकारको रुपमा स्थापित भईसकेकी रविना बसेल, त्यस्तै गुल्मेली कलाकारहरु अर्जुन कुँवर र अस्मिता बुढाथोकीको स्वर रहेको छ । पछिल्लो समय निकै चर्चा कमाउन सफल कलाकार गणेश अधिकारीको शव्द रहेको गीतलाई महेन्द्र भण्डारीले लय दिएका छन् ।
लेकसाईड टिभी युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियो निर्देशन स्मृति तिमिल्सिना गुरुआमाले गरेकी छिन् । भिडियोमा सचिन परियार, रविना बसेल, सविन क्षेत्री, करिष्मा ढकाल, अर्जुन कुँवर र एलिना रायमाझी लगायतले अभिनय गरेका छन् । भिडियो सार्वजनिक भएको १ घण्टामै झण्डै २ लाखले हेरिसकेका छन् ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङ्कोटमा जन्मिएका सचिन परियार अहिले बुबासगैं तम्घासमा बस्दै आएका छन् । उनका बुबा तम्घासमा व्यवसाय गर्दछन् । आर्थिक अभावका कारण उनले २ कक्षासम्म पढेर अध्ययनलाई रोकेका छन् । उनको कला देखेपछि गुल्मीका पत्रकारहरुले भिडियो सामाग्री बनाएर युटुबमा राखेका थिए । उनको प्रतिभा दर्शकले निकै रुचाए ।
अहिले उनी एकाएक भाईरल बनेका छन् । पत्रकारहरु मोहन बस्नेत, दिपक नेपाली, जीवन पाण्डे, शकंर भुषाल, महेन्द्र कौशल लगायतले उनलाई ईन्द्रेणीसम्म पुर्याएका थिए । यस अगाडी ८ वर्षमै दोहोरी गाएर एकाएक चर्चा कमाएकी रविना बसेललाई पनि यिनै पत्रकारहरुले ईन्द्रेणीसम्म पुर्याएका थिए ।
अहिले रविना ईन्देणी टिमसगैं कार्यरत रहेकी छिन् । उनलाई लालनपोषण र शिक्षाको जिम्मा ईन्द्रेणीले लिएको छ । सचिनको पनि ईन्द्रेणीमै बस्ने पक्कापक्की भएको पत्रकार मोहन बस्नेतले बताए ।
गीत भिडियोमा हेर्नुहोस्