प्रत्येक आधाघण्टाको बाटोमा आधारभूत स्वास्थ्य सेवा केन्द्र

प्रत्येक आधाघण्टाको बाटोमा आधारभूत स्वास्थ्य सेवा केन्द्र

Badigad Online
3 Min Read

बागलुङ,फागुन ७ / बरेङ गाउँपालिकाले सबै वडामा आधारभुत स्वास्थ्य सेवाको पहुँच बिस्तार गरेको छ । गाउँपालिकाले प्रत्येक आधा घण्टाको दुरीमा स्वास्थ्य संस्थाहरु स्थापना गरेर नागरिकलाई आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । नागरिकको आवश्यकता अनुसार साविकका स्वास्थ्य संस्थाहरुको परिचालन र अपुग रहेको ठाउँमा आन्तरिक स्रोतको परिचालन मार्फत स्वास्थ्य ईकाइहरु स्थपाना भएको उनले बताए ।

जनघनत्वलाई समेत ध्यानमा राखेर नागरिकको आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न थालिएको थापाको भनाइ छ । सामुदायिक स्वास्थ्य इकाई थप गरेर स्वास्थ्य सेवालाई पहुँच योग्य बनाएको उनको भनाई छ ।साविक स्वास्थ्य संस्था रहेका वडाहरुमा समेत नागरिकको पहुँच कम रहेका बस्ति नजिकै सामुदायिक स्वास्थ्य ईकाइ स्थापना भएका छन् । गाउँपालिकाका चार वटा वडामा पाँच वटा स्वास्थ्य इकाई थप गरेर स्वास्थ्य सेवा विस्तार गरेका स्वास्थ्य शाखा प्रमुख पदम पुनले जानकारी दिए ।

गाउँपालिकाले वडा–१ धुल्लुबाँस्कोटको लुरुङ र गंडेल, वडा– २ हुग्दिशिरको बराहकोट, वडा–३ बाटाकाचौरको साग्दी, वडा–४ सल्यानको थप्लुङ्गमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना भैसकेको हो । प्रत्येक स्वास्थ्य इकाईमा एक जना अनमी र एक जना अहेवको दरबन्दी कायम गरी जनशक्ति व्यवस्थापन गरेको शाखा प्रमुख पुनको भनाई छ ।नागरिकलाई सुलभ स्वास्थ्य सेवा पहुँच योग्य बनाउन गाउँपालिकाले आन्तरिक स्रोतबाट औषधी तथा जनशक्ति व्यवस्थापन गरेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् ।

स्वास्थ्यकर्मीको तलब भत्ता व्यवस्थापकोलागि गाउँपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।प्रत्येक स्वास्थ्यकर्मीलाई २० हजार रुपैयाँको दरले तलब उपलब्ध गराउँदा १३ महिनाको तलवसहित २६ लाख रुपैयाँ खर्च हुनेछ । बाँकी रकम पालिकाले नै व्यवस्थापन गर्नेछ । स्वास्थ्य इकाईमा आवश्यक पर्ने औषधी खरिदकोलागि पालिकाले आठ लाख रुपैयाँ विनियोजन गरेको पुनको भनाई छ ।

न्युनतम असी घरधुरी वा आठ सय जनसंख्या भएको क्षेत्रमा एकवटा स्वास्थ्य इकाई थप गर्ने कार्यविधि गाउँपालिकाले बनाएको छ । वडा नम्बर पाँचमा इकाई थप गर्न जनसंख्या पुगेको छैन ।त्यहाँको भौगोलिक अवस्था र जनताको सुविधालाई ध्यानमा राखेर सेवा विस्तारको प्रक्रिया थालिएको स्वास्थ्य शाखा प्रमुख पुनले बताए । ‘जति सक्दो सुविधालाई गाउँ गाउँमा पु¥याउने लक्ष्य राखेका छौँ’ गाउँपालिका प्रमुख कृष्ण प्रसाद शर्माले भने–‘जनता सेवानै गाउँ पालिकाको प्रमुख लक्ष्य हो ।’ सामान्य सिटामोल खाना समेत घण्टौं हिड्न् पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले सेवा विस्तार गरेको उनको भनाई छ ।

ढोरपाटन संवाददाता

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित