बाग्लुङ्ग- फ्रन्टलाइनमा रहेर काम गर्ने बागलुङका पत्रकारले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारको कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानअन्तर्गत सोमबार, मंगलबार र बुधबार पत्रकारले लगाएका हुन्।
जिल्लामा पहिलो चरणको दोस्रो प्राथमिकताको आधारमा आइतबारबाट लगाउन शुरु गरिएको कोरोना विरुद्धको खोप कार्यक्रम अन्तर्गत जिल्लाका एक सय जना पत्रकारले खोप लगाएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जनाएको छ ।
अग्रभागमा खटिएर काम गर्ने चिकित्सक स्वास्थ्यकर्मी पछि अन्यलाई पनि प्राथमिकताका आधारमा कोरोना विरुद्धको खोप लगाउने क्रममा प्राथमिकतामा जिल्लाका पत्रकारलाई पनि राखिएको थियो । बुधबारसम्म जिल्लामा पत्रकार, स्वास्थ्यकर्मी, जनप्रतिनिधी र सुरक्षाकर्मी गरी कुल एक हजार चार सय १५ जनालाई खोप लगाइएको छ ।
स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन दवप्रकाश घिमिरेलेका अनुसार सोमबार बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट बागलुङको पश्चिम क्षेत्रमा क्रियाशिल ७ जना पत्रकार, मंगलबार धौलागिरी अस्पताल बागलुङ र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ४३ जना पत्रकार र बुधबार ५० गरी १ सय जना पत्रकारले खोप लगाएका हुन् ।
कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारले खुशी व्यक्त गरेका छन्। फ्रन्टलाईनमा काम गर्ने पत्रकारलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भएको भन्दै यसलाई विरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने बागलुङमा कार्यरत पत्रकारले बताएका छन् ।