सागर भण्डारी
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका, वडा नम्बर ४, गोजुगांकी कुमारी पुनलाई माईलो सन्तानको रुपमा छोरा जन्मियो। दोस्रो सन्तानको रुपमा छोरो जन्मेपछि परिवार र छरछिमेकी सबै खुसी भए। छोराको नाम राखे– समीर पुन। जेठो छोरा हुर्किसकेका थिए। ‘दुई सन्तान ईश्वरका वरदान!’ भन्ने सोचेर पुन दम्पतिले अब अरु सन्तान नपाउने निधो गरेको थियो।
सानोमा निकै रिष्टपुष्ट थिए समीर। उनी बिस्तारै ठूलो हुँदै गए। बामे सर्ने बेला र हिँड्डुल गर्ने समय आएपछि उनमा अनौठो किसिमको व्यवहार देखिन थाल्यो। उनी एक्कासी चिच्याउने, बड्बडाउने र जथाभावी कुद्ने गर्न थाले । उनमा अनौठो शारीरिक र मानसिक व्यवहार देखिन थाल्यो । समीरसँगै जन्मेका बालबालिकाहरु विद्यालय जाने उमेरका भएपछि परिवारलाई झनै पीडा थपियो ।
बिस्तारै उनी ठूलो हुँदै गएपछि घरबाट हिँडेर लामो समयसम्म घरमा नै नआउने गर्न थाले । उनको रेखदेख गर्न गाह्रो हुन थाल्यो । धरालो नै बसेर पनि रेखदेख गर्न नसकिने भएपछि परिवारले उनलाई दाम्लोमा बाँधेर राख्न थाले । अहिले समीर परिवारको बाध्यताले गर्दा आफ्नै घरमा बाँधिएका छन्।
मानसिक तथा शारीरिक अवस्था कमजोर भएका समीरलाई परिवारका सदस्यले झण्डै २ वर्षदेखि दाम्लोमै बाँधेर राख्ने गरेको स्थानीयवासी बताउँछन् । जन्मँदा स्वास्थ्य अवस्था राम्रो रहने पनि अहिले उनले अस्वभाविक व्यवहार देखाउने गरेका छन् । बालकलार्ई बाँधेको डोरी खोल्दिने वित्तिकै पल्टने, घरमा राखिएका सामान फ्याँकेर नष्ट गरिदिने, घरबाहिर गएर हराउने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले चोटपटकबाट बचाउन बाँधेर राख्ने गरेको समीरकी आमा कुमारीले बताइन्।
कुमारीका अनुसार समीर एकपल्ट भिरबाट समेत लडेका थिए । उपचारका लागि परिवारले पहल नगरेका होइनन् । आफन्त र साहुबाट ऋण लिएरै भएपनि समीरको उपचारका लागि बुटबल र भैरहवासम्म पु¥याए । त्यसै त आर्थिक अवस्था कमजोर रहेका उनीहरुलाई छोराको उपचारका लागि पैसा पुगेन । त्यसपछि फर्कार पुनः घरमै लिएर आए । ‘श्रीमानले मजदुरी गरेर कमाएको अलिअलि पैसा पनि सकियो । न छोरोलाई नै निको भयो न पैसा बच्यो,’ समीरकी आमा कुमारीले दुःखेसो सुनाइन्।
कुमारीका अनुसार समीरले दिसा पिसाबसमेत तर्काउन नसक्ने भएका कारण बाँधेर राख्न थालिएको हो । ‘दिनभर मेलापात जानुपर्छ यसको अगाडि–पछाडि गरेर पाउने भए पो ! मेलापात गर्नै पर्यो,’ कुमारी आफ्ना दुःखका पोका खोल्दै भन्छिन्, ‘हामीलाई त दैवले पनि ठग्यो । मेलापात नगरे के खाने ? यसको रेखदेख गर्न त समय नै मिल्दैन।’
समीरले न त भोक लाग्यो भनेर भन्न सक्छन् न दिसा पिसाब लायो भनेर नै भन्न सक्छन्। भोक लाग्यो भने नजिकै रहेको ढुङ्गा माटो समेत खाने गरेको कुमारीले सुनाइन्।
कुनै ठूलो अस्पतालमा लगेर छोराको उपचार गर्ने अभिलाषा छ कुमारीको । ठूलो अस्पतालमा उपचार गर्दा छोरो कसो नहोला र ! कहिलेकाहिँ आत्मविश्वास पनि जाग्छ उनमा । तर, पैसा कहाँबाट जुटाउनु र छोराको उपचार ठूलो अस्पतालमा गराउन । राज्यले समीरलाई अपाङ्ग भनेर केही सय रुपैयाँ दिन्छ। ती केही सय रुपैयाँले कसरी लाखौं लाग्ने उपचार खर्च जुटाउनु ? कुमारीले धेरै पटक सरकारी हाकिमहरु बस्ने कार्यालयका ढोका चहारेर गुहार पनि मागेकी छन्– सरकार छोराको उपचार गरिदिनुहोस् न ! तर, सरकारले अहिलेसम्म उनको याचना सुनेको छैन।
कुमारीलाई अझै पनि लाग्छ, छोरोको उपचार गर्न कतैबाट खर्च जुटी पो हाल्छ कि ! कोही मनकारी भेटि पो हाल्छन् कि ! ‘आश त लाग्छ नि, छोरो हो, हाम्रो त भविष्य हो, भविष्यको माया मार्न कसरी सकिन्छ र ? याचित भावमा कुमारी भन्छिन्।