गुल्मी: गुल्मी जिल्लामा पछिल्लो समय दिनहुँ जसो जघन्य आपराधिक घटनाहरु भैरहेका छन तर प्रहरी प्रशासनले एउटा पनि घटनाको दोषी सार्वजनिक गर्न सकिरहेको छैन। घटनाको बारेमा न त प्रहरीले नागरिलाई विश्वस्त पार्न सकेको छ। न त अपराधी फेला पार्न नै सकेको छ। जिल्लावासी धेरै नागरिकहरु जिल्लामा शान्ति सुरक्षा नभएको भन्दै त्रसित भैरहेका छन।
पछिल्लो पटक गुल्मीको भाडगाउँमा एक साता पहिले भएको रहस्यमय घटनाले अहिले जिल्लाभर तरङ्ग फैलिएको छ। जिल्लाकै सदरमुकाम तम्घासबाट आधा घण्टाको दुरीमा भएको निकै डरलाग्दो घटनाले सबैलाई झस्काएको छ। रेसुङ्गा नगरपालिका-३, भाडगाउँ निवासी टोमकला खत्रीको घरमा माघ २९ गते राती सासुबुहारीले खाना खाईसकेको बेलामा ३ जना माक्स लगाएका युवाहरु प्रबेश गरे । केही समयमै १५ महिनाको नाती र टामकलालाई छुट्टै कोठामा थुनेर राखे । रातभर बुहारी सम्झना खत्री बोहोरासंगै बसेर बिहानपख ३ जनाले सम्भनालाई बेपत्ता बनाए । कसैलाई नभन्नु भनेका कारण प्रहरीसम्म यो घटनाको फेहरिस्त पुग्न ढिला भयो।
फागनु १ गतेका दिन प्रहरीले सासु र उनका छोरा नेत्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा बोलायो र बुहारी कसरी बेपत्ता भईन सोधपुछ गर्यो । केही समय हिरासतमा राख्यो घरमा सानो बच्चा भएको भन्दै सासुलाई प्रहरीले साझ घर पठायो । छोरा नेत्रबहादुर खत्रीलाई हिरासतमै राख्यो ।
घटना माथी अर्को घटना थपियो । साँझ घर फर्किएकी ४८ बर्षीया तोमकला खत्री अर्कोदिन बिहान घर नजिकैको खनियाँको रुखमा झुण्डिएको अबस्थामा मृत फेला परिन । उनले आत्महत्या गरेको जानकारी पछि छोरा नेत्रबहादुरलाई प्रहरीले कुनै प्रकृया बिना हिरासत मुक्त गर्याे ।
टोमकलाको शबको अझैसम्म पोस्टमार्टम हुन सकेको छैन । घरपट्टिकाले आफ्नो छोरी हराएकोमा बढी तनाब सासुलाई दिएको कारण टामकलाले आत्महत्या गरेकी हुन भन्ने दाबी गर्दै आत्माहत्या दुरुत्याहनको मुद्धा दर्ता गराए । उता घरबाटै बेपत्ता भएको छोरीको खोजतलास गरिदिनु पर्याे भन्दै सम्झनाको माईती मुसिकोट नगरपालिका वडा नम्वर २ अमराईबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आए । तर उजुरी लिएर आएका सम्झनाका बाबु हिरा र फुपु मिठु बाहोरालाई नै प्रहरीले हिरासतमा राख्यो ।
यो घटना दिनप्रतिदिन झनै रहस्यमय बन्दै गएको छ । नागरिकहरु प्रहरी प्रशासनप्रति निकै आक्रोशित बनिरहेका छन । बिहिबार सार्बसाधारणहरु नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय भित्रै पुगे । कुनै पनि आन्दोलनमा गेटभन्दा भित्र छिर्न नपाउने आन्दोलनकारीहरु सुरक्षाकर्मीको कुनै मतलबनै नगरि सिधै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पुगे । सुरुमा महिला सिडियो भन्दै निकै हौसिएका जिल्लावासीले उनै सिडियोलाई निरिहको शंज्ञा समेत दिए ।
जिल्ला प्रहरी प्रमुख प्रबिणलाल श्रेष्ठ पनि सिडियोको कार्यकक्षमै थिए । न्याय नपाएर आन्दोलित भएका नागरिकहरु एपी श्रेष्ठसंग जवाफ मागी रहेका थिए । न त सिडियो रुद्रादेवी शर्माबाट कुनै आशा लाग्दो निर्देशन भयो न त एपी श्रेष्ठले नागरिकलाई विश्वस्त पार्न सके । आन्दोलनकारीले हराएकी सम्भनाको १५ महिनाको छोरालाई सिडियो शर्माकै कार्यकक्षमा छाडेर गए । देख्दा लाग्थ्यो यो कुनै रियल घटना नभएर सिरियल वा फिल्मको सुटिङ्ग हुदैछ । साँझ मात्र आफन्त आएर १५ महिनाको छोरालाई लगे ।
अझैपनि घटनाको कुनै नालिबेली सुरु भएको देखिदैन । एउटा मात्र घटना भएको भए नागरिक यति आक्रोशित हुनेपनि थिएनन । जिल्लामा पछिल्लो समय यस्ता दर्जनौ घटना घटिसके तर अपराधि भेटाउनै नसकेर प्रहरी प्रशासन हैरान परेको छ । प्रहरीले हुन्छ, हामी अनुसन्धान गर्दैछौँ भन्ने बाहेकको जवाफ नागरिकलाई दिन सकेको छैन।
विगत ६ महिना यताका केही मुख्य अपराधिक घटना :
जिल्लाकै ईस्मा गाउँपालिका १ छिनुवाखोला भन्ने ठाउँमा पसल गर्दै आएका २१ वर्षका मोतीबहादुर कुबँरको उनकै पसलमा निकै दर्दनाक हत्या भयो । गत भदौ महिनामा भएको घटनाको अहिलेसम्म प्रहरीले हत्यामा सम्लग्नलाई भेटाउन सकेको छैन ।
गुल्मी दरबार गाउँपालिका ४ बस्ने ३८ वर्षका नारायण पाध्य शर्मा चुदाली बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत मंसिरमा मानव बेचबिखन विरुद्ध मुद्धा दर्ता भएको छ । उनले गत कात्तिकमा १७ वर्षिय बालिकालाई भारत लगि बेचेको आरोप छ । आरोपित बिरुद्ध जिल्ला अदालत गुल्मीले मंसिरमै पक्राउपुर्जी जारी गरेको थियो । तर बालिकाका आफन्तहरुले पटक–पटक प्रहरीलाई जानकारी गराउदा आरोपित गाउँमै हुँदा पनि प्रहरीले पक्राउ नगरेको गुनासो गर्छन ।
रेसुङ्गा नगरपालिका पराल्मीका ४५ वार्षिय तुलबहादुर बिकको गत माघ ३ गते घाँस काटन जंगलमा गएका उनि भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको अबश्थामा फेला परे तर अझैसम्म प्रहरीले अपराधिको छेउटुप्पो मेसो पाएको छैन ।
गत पुषमा सदरमुकामको बजारमै धामीले तातो छडले डामेर ईस्मा गाउँपालिकाका ६४ वर्षका रामबहादुर मुखियाको ज्यान गयो । आरोपित धामी र उनिकी पत्नीलाई प्रहरीले गिरफ्तार त गरेको छ । अनुसन्धान गरिरहेको छ । तर प्रहरी प्रशासनको पछिल्लो अबश्था देखिर मृतकका आफन्तहरु विश्वस्त छैनन।
उता चन्द्रकोट गाउँपालिका ३ हर्राचारौमा वडा अध्यक्षकै छोराले सञ्चालन गरेको लाखौको बाख्रा फर्ममा आगलागी भएर क्षती भयो । महिनौ बितिसक्दा पनि अपराधी फेला परेन।
मालिका गाउँपालिका घमिरमा ३ पटकसम्म वडा कार्यालय टोडफोड भयो । तर अझैसम्म अपराधिक कार्य गर्ने मान्छे प्रहरीले पक्राउ गर्न सकेन।
सदरमुकाम तम्घास नयाँबजारमै चोरी भयो । अझैसम्म चोरी गर्ने ब्याक्ति फेला पर्न सकेन । गुल्मीकी पहिलो महिला सिडियो रुद्रादेवि शर्मा प्रहरीको असक्षमताका कारण निकै अफ्ठ्यारोमा परेको देखिन्छ । उनीसंग हरेक अपराधका घटनाका बिषयमा जिज्ञाशा राख्दा अनुसन्धान भईरहेको र छिट्टै सफलता हाता पर्ने बताउँछिन तर प्रहरीले कहिल्लै अपराधी पत्ता लगाउन सकिरहेको छैन ।
यि प्रतिनिधी मुलक घटना हुन । किन यसरी निरिह बन्दै छ गुल्मीको प्रहरी नेतृत्व, नागरिकहरु असुरक्षित र दुखि बनेका छन । आशा छ सबै घटनाको अपराधिहरु छिट्टै पत्ता लागोस । प्रहरीलाई सफलता मिलोस नागरिकलाई शान्ती र सुरक्षाको आभास होस।







