मनपर्ने टेलिभिजन कार्यक्रम छुट्यो? या त मध्यरातमा सुरु हुने प्रिमियर लिगका खेल या होस् केहि लाइभ कार्यक्रम जुन हेर्ने मन भएपनि विभिन्न कारणले हेर्न छुटाइरहनु भएको छ?
चिन्ता रहेन अब, यस्तै कुराको एउटै समाधान छ युट्युब। हलिउडको मुभी सिरिज ‘डक्टर स्ट्रेंज’को ट्रेलर होस् वा नेपाली ‘छक्का पन्जा’ संसार भर चाहेको बेलामा हेर्न पाइन्छ।
युट्युब सर्च इन्जिन जाइन्ट कम्पनी गुगलको भिडियो स्ट्रिमिंग सर्भिस हो भन्ने कुरा त धेरैलाई थाहा छ तर, यसैका केही रोचक तथ्य छन् जुन तपाइलाई थाहा नभएको हुनसक्छ। आउनुहोस् जानौँ।
१. गुगलको आफ्नै उत्पादन थिएन
पैसा आदानप्रदान गर्न सकिने परिचित पेमेन्ट गेटवे पेपलमा कार्यरत तीन युवाले युट्युबको स्थापना गरेका थिए। चाड हर्ले, स्टिभ चेन र जावेद करिमले सन् २००५ युट्युबको सुरू गरे। सन् २००६ अर्थात् स्थापनाको एक बर्षमै गुगलले १.६५ बिलियन अमेरिकी डलरमा उसलाई किनेको हो।
२. प्रयोगकर्ता
अहिले युट्युबमा रहेका सक्रिय प्रयोगकर्ता एक बिलियन भन्दा बढि छन् जुन इन्टरनेटको पहुँचमा रहेका विश्व जनसंख्याको एक तिहाइ हुन जान्छ।
यसका सक्रिय प्रयोगकर्तामध्ये ८० प्रतिशत अमेरिकाभन्दा बाहिरका बासिन्दा छन्। अहिले ८८ वटा देशमा युट्युबले लोकल सर्भर राखेको छ र यो संगै उसले स्थानिय भाषामा र स्थानीयले रुचाउने भिडियो पस्किने गरेको छ।
यसलाई अहिलेसम्म ७६ वटा भाषामा प्रयोग गर्न सकिन्छ। जुन इन्टरनेटको पहुँचमा रहने मध्येबाट विश्वमा बोलिने भाषाको ९५ प्रतिशत प्रतिनिधित्व हो। नेपालमा नेपाल टेलिकमसँगको सहकार्यमा यसले लोकल सर्भर (क्यास सर्भर) राखेको छ जसको सहायताले नेपालमा साधारण स्पिड रहेको इन्टरनेटबाट पनि उच्च गतिमा युट्युब प्रयोग गर्न सकिन्छ।
३. विज्ञापन
युट्युबमा भिडियो चलिरहेको समयमा भिडियोको टाइमलाइनमा पहेला धर्सा देख्नु भएकै होला। ति धर्साले विज्ञापन रहने स्थानको संकेत गरेका हुन्। भिडियो बिचमा वा त्यसको पुछारमा यस्ता विज्ञापन डिस्प्ले हुन्छन्। सन् २०१४ को अन्त्यसम्ममा गुगलले विज्ञापन मार्फत १ बिलियन अमेरिकी डलर प्रयोगकर्ताले मनिटाईज्ड गरेका सामग्रीलाई भुक्तानी गरिसकेको छ। यो क्रम हरेक बर्ष ९५ प्रतिशतले बढ्दै गइरहेको छ।
४. सबैभन्दा ठूलो भिडियो संग्रह
अहिले युट्युब विश्वकै सबैभन्दा ठूलो भिडियो संग्रह गर्ने साइट बनेको छ। यसमा प्रतिमिनेट ४००-५०० घण्टा बराबरको भिडियो अपलोड हुने गरेको छ। एक घण्टामा अपलोड भएको भिडियो पुरा हेर्न प्रयोगकर्तालाई ८२ बर्ष लाग्ने मेकयुजअफ डटकमले जनाएको छ।
५. सर्च पनि लोकप्रिय
गुगल पछिको सर्वाधिक प्रयोग हुने सर्च इन्जिन युट्युब बनेको छ। जुन आस्क, बिंग र याहुको कुल सर्च भन्दा बढि लोकप्रिय छ।