वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिको आयोजनामा उत्कृष्ट स्वर छनोट अडिसन-२०७७ सञ्चालन हुँदैछ। वामी सेरोफेरोका लुकेर रहेका प्रतिभा प्रस्फुटन र प्रवर्द्धन गर्ने र मौलिक लोकलयको संरक्षण र संवर्द्धन गर्ने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो।
प्रतियोगीले अडिसनका लागि आफूले गाएको भिडियो ह्वाट्सएप नम्बर ००४२०७७५२८७२३१ मा यही मिति २०७७ फागुन १५ देखि २९ गते सम्म पठाइसक्नुपर्नेछ। यस प्रतियोगितामा सहभागी भई उत्कृष्ट छनोट हुने एकजना महिला र एकजना पुरुष प्रतियोगीलाई नौमती सांस्कृतिक महोत्सव विशेष गीत (थिम सङ्ग) गाउने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा अनलाइन अडिसन द्वारा प्रतिस्पर्धीको छनोट गरिनेछ। सहभागिता जनाउन चाहने निम्न पालिकाहरुका महानुभावहरुले अडिसनका लागि पठाउनु भएको भिडियो क्लिपलाई सेरोफेरो नेपाल फेसबुक पेजमा क्रमशः अपलोड गरिनेछ। प्रतियोगितामा गुल्मीका मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिका र बाग्लुङका बडिगाड गाउँपालिका र गलकोट नगरपालिकाका प्रतियोगीले भाग लिन सक्ने बताइएको छ।
भिडियो पोष्टमा आएको लाइक र भ्यूजलाई पनि छनोटको आधार बनाइने भएकाले पेजमा सार्वजनिक गरिएको आफ्नो भिडियोलाई जतिसक्दो धेरै श्रोता माझ पुर्याउने जिम्मेवारी स्वयं प्रतियोगीको हुनेछ। उत्कृष्ट स्वर छनोटको आधार लाइक र भ्यूजलाई ५०% र अर्को ५०% आयोजक समितिका साथै लोकगायक, एरेन्जर एवं संगीतकार बिबी अनुरागी र लोकगायक रामचन्द्र चन्द सदस्य रहेको निर्णायक मण्डललाई बनाइने आयोजक समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
यस प्रतियोगितामा सहभागी भई अवसरको फाइदा उठाउनुहुन संस्था सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।
यस संस्थाले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धनका लागि प्रत्येक दुई वर्षमा दशैँ पछिको कोजाग्रत पूर्णिमाको पर्सिपल्ट नौमती बाजा महोत्सवको आयोजना गर्दै आइरहेको छ र परोपकारी कार्यहरू पनि गर्दै आइरहेको छ। संस्थाले यसै वर्ष आयोजना गर्ने भनिएको तेस्रो नौमती महोत्सव कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थगन गरिएको थियो। स्थगित कार्यक्रम आगामी सालको कोजाग्रत पूर्णिमा पछि आयोजना गर्ने योजना संस्थाको रहेको छ।
प्रतियोगिता बारे विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।