काठमाडौँ: सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा नाटक अर्को अर्थ नलागेमा फागुन १८ देखि मञ्चन सुरु भएको छ। फागुन १८ गते रंगकर्मी, फिल्मकर्मी र पत्रकारहरुलाई बिशेष शो देखाइयो। नाटक हेरिसके पछि उपस्थित व्यक्तिहरुले एक बर्षपछि एउटा राम्रो नाटक हेर्न पाएको प्रतिक्रिया दिनुभएको छ।
साहित्यकार कुमार नगरकोटी, कान्तिपुर दैनिकका सिनियर कार्टुनिष्ट अविन श्रेष्ठ, कलाकार भोलाराज सापकोटा, धिरेन्द्र प्रेमर्षी, शेखर चापागाईं, लेखक शरच्चन्द्र वस्ती, रमण घिमिरे, बिष्णु निष्ठुरी,दिपक मानन्धर साथै अन्य दर्जन बडी बिशिस्ट व्यक्तिहरुको उपस्थिति थियो।
नाटक हेरिसकेपछि धिरेन्द्र प्रेमर्षी आफ्नो आधिकारिक फेसबुकमा लेख्नु हुन्छ ‘उत्कर्ष छुँदै नेपाली नाट्य-विन्यास …प्रसिद्ध रंगशिल्पी Sunil Pokharel को संयोजन तथा निर्देशनमा प्रस्तुत Sharat Chandra Wasti का व्यङ्ग्य आलेख “अर्को अर्थ नलागेमा” को नाट्य-रूपान्तरण र प्रस्तुति हेर्दा यही भन्न मन लाग्यो। कोरोना काल र त्यसपछिको राजनीतिक कुचक्रले रन्थनिएको मन-मस्तिष्कलाई शीतलता प्रदान गर्ने विलक्षण सृजन-सौगात।’
यस्तै कार्टुनिष्ट अविनले पनि नाटक हेर्दा बेग्लै स्वाद आएको प्रतिक्रिया दिनुभएको छ। कलाकार भोलाराज सापकोटाले पनि एउटा राम्रो नाटक हेर्न पाएको प्रतिक्रिया दिनुभएको छ। साथै अन्य उपस्थित व्यक्तिहरुले अहिलेको राजनीतिक माहोलाई निकै कलात्मक ढंगले ब्यङ्ग गरिएको जसले आम दर्शकले एउटा चेतनाको रुपमा लिने पनि प्रतिक्रिया दिनुभएको छ।
लेखक वस्तीले नाटक हेरिसकेपछि अन्त्यमा आफ्नो लेखहरुलाई यति कलात्मक तरिकाले नाटकको रुपमा मन्चन गरिदिनु भएको भन्दै सबैलाई धन्यबाद दिनुभएको छ।
नाटक चैत ७ गतेसम्म मण्डला थिएटरमा हरेक दिन साँझ ५ः३० बजे मञ्चन हुँदैछ भने शनिवारको दिन थप प्रदर्शन दिउसो १ बजे पनि हुनेछ।
देशमा घटिरहेको पछिल्लो घटनालाई नाटक ‘अर्को अर्थ नलागेमा’ ले गतिलाई झटारो हानेको छ। नाटकको टिकट बुकिङ्ग पनि खुल्ला गरिएको छ।
यस नाटकको सम्पूर्ण तयारी सकिएको छ। ‘ज्ञ’ थिएटरका विद्यार्थीहरुको अभिनय रहेने यस नाटकलाई ‘ज्ञ’ कै १० जना विद्यार्थीहरुले निर्देशन गरेका हुन्।
हरेक शनिबार कान्तिपुर पत्रिकामा छापिदै आएका लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्को अर्थ नलागेमा’का स्तम्भमध्ये ११ वटा स्तम्भहरुलाई जोडेर नाटकमा रुपान्तरण गरिएको हो।