– सागर भण्डारी
गुल्मी- यही फाल्गुण २३ गतेदेखि सुरु हुने कोरोना खोपका लागि मुसिकोट नगरपालिकामा ७ वटा खोप केन्द्र निर्माण गरिएको छ। नगरपालिकाको ९ वटा वडाका ७ वटा स्वास्थ्यचौकीहरुमा खोप केन्द्र निर्माण गरि कोरोना खोप सञ्चालन हुने भएको छ।
बुधवार खोप समन्वय समितिका पदाधिकारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका ९ वटा वडामध्ये ७ वटा वडामा रहेका स्वास्थ्य चौकीमा खोप केन्द्र सञ्चालन हुने जानकारी गराईएको थियो।
दाश्रो चरणको खोपमा नेपाल सरकारले वृद्ध र शिक्षकहरुलाई खोप दिने तैयारी गरेको छ। अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले कोरोनाको कोभिसिल्ड खोप असुरक्षित छ भन्ने भ्रम रहेको भन्दै खोप सुरक्षित रहेको बताउनुभयो। उहाँले पहिलो खोपले ७२ प्रतिशत र दोस्रो पटक लगाईने खोपले ९० प्रतिशत काम गर्ने जानकारी दिनुभयो।
खोप लगायतपछि सामान्य लक्षण देखिनु स्वभाविक भएको भन्दै जनमासमा खोपले जटिल समस्या निम्ताउँछ भन्ने भ्रम गलत रहेकाले सबैले आफ्नो नजिकैको खोप केन्द्रमा गएर सुरक्षित साथ खोप लगाउन पनि उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष भागिरथ खरेलले अन्य विकसित मुलुकका नागरिकहरुले समेत अझैसम्म कोराना खोप नपाएको अवस्थामा नेपाल सरकारले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखि छिट्टै खोप उपलब्ध गराउनु प्रशसंनीय कार्य रहेको बताउनुभयो। साथै उहाँले खोप लगाएपछि विभिन्न स्वास्थ्य समस्या आउँछन् भन्ने मानसिकता बदल्नका लागि सचेत वर्गहरुले समुदायका नागरिकमा सचेतना प्रदान गर्नुपर्ने पनि बताउनुभयो। नगरपालिकाका ९ वटै वडाका जेष्ठ नागरिक एवम् अशक्त र अपाङ्गता भएका व्यक्तिहरुलाई घरघरमै पुगी निशुल्क यातायातको व्यवस्था गरी खोप केन्द्रसम्म ल्याउने र लैजाने पनि जानकारी गराईएको थियो।
कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगरउपप्रमुख कमला शर्मा, प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषाल, वडा नं १ का वडाध्यक्ष पूर्ण बहादुर हितान, वडा नं ४ का वडाध्यक्ष ओम बहादुर केसी, ८ का वडाध्यक्ष नारायण सापकोटा, वडा नं ५ का वडाध्यक्ष भागीरथ खरेल, ९ का वडाध्यक्ष नरेशराज खरेल, मुसिकोट नगरपालिका शिक्षा शाखा सयोंजक चुरा बहादुर छन्त्याल, गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्य, महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देविराम शर्मा, नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नगरपालिकाका स्वास्थ्य सहसयोंजक पुष्कर गौतमले गर्नुभएको थियो।