– मुकेशचन्द्र राजभण्डारी
बाग्लुङ- बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई ‘सुरक्षा थ्रेट’ बढेको भन्दै सरकारले पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) उपलब्ध गराएको छ। मेयर नेपालीले दिएको निवेदनका आधारमा गृह मन्त्रालयले सुरक्षाकर्मी खटाएको हो।
जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले गृह मन्त्रालयको निर्देशनमा मेयरलाई हवल्दारसरहका पीएसओ दिइएको बताए । ‘गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट मेयरलाई पीएसओ खटाउदिनू भन्ने निर्देशन थियो,’ उनले भने, ‘त्यहीअनुसार व्यवस्था गरिदिएका हौँ।’
कसैलाई पनि व्यक्तिगत रूपमा सुरक्षा थ्रेट भएको निवेदन परे सरकारले सुरक्षाकर्मी खटाउने व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताए । ‘अहिलेलाई तीन महिनासम्मका लागि भनिएको छ, त्यसपछि सुरक्षा थ्रेटको विषयलाई हेरेर थपघट गर्ने काम हुन्छ,’ उनले भने ।
दुई वर्षअघि पनि ‘सुरक्षा थ्रेट’ भएको भन्दै नेपालीले जिल्ला प्रशासनमा निवेदन दिएका थिए । तर त्यति बेला गृह मन्त्रालयले चासो दिएको थिएन ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मेयरलाई पिसएओ दिने कार्यविधिमा नभए पनि सुरक्षा थ्रेटका आधारमा दिन सकिने बताए । ‘कुन विषयमा सुरक्षा थ्रेट हो भन्न मिल्दैन,’ उनले भने, ‘गृहमन्त्रीको निर्देशनमा हामीले व्यवस्था मिलाउन परिपत्र गरेका हौं ।’
मन्त्रालयका एक अधिकारीका अनुसार गृहमन्त्री रामबहादुर थापाको ठाडो निर्देशनमा मेयर नेपालीलाई पीएसओ दिइएको हो।
यता मेयर नेपालीले आफूलाई सुरक्षा थ्रेट रहेकाले सरकारी मापदण्डअनुसार पीएसओ लिएको बताए । ‘मलाई सुरक्षा थ्रेट छ, दुई वर्षअघि नै निवेदन दिएको थिएँ तर सुनुवाइ भएन, अहिले गृहले त्यो व्यवस्था गरेको छ,’ उनले भने।
प्रहरी प्रधान कार्यालय नक्सालका उच्च एक अधिकारीले मेयरलाई पहुँचका आधारमा पीएसओ दिइएको दाबी गरे । ‘हाम्रो नेपालमा पहुँचका आधारमा सेवासुविधा थपघट हुन्छ। कार्यविधिमा मेयरलाई पीएसओ दिने भनिएको हुँदैन तर सुरक्षा थ्रेट भन्दै दिइएको हो । यो लम्बिन सक्छ,’ उनले भने।
नेकपा दुई समूहमा विभाजित भएपछि मेयर नेपाली केही समय कुनै पक्षमा खुलेनन् । दुई समूहका विभिन्न कार्यक्रम हुँदा पनि उनले पार्टी एकताको पक्षमा रहेको भन्दै छुट्टै भेला बोलाएका थिए।
माघ ३ गते मेयर नेपालीसहित बागलुङका केही नेताहरूले गृहमन्त्रीसँग भेटेका थिए। त्यसपछि मेयर नेपालीले प्रधानमन्त्री केपी ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पनि भेट गरेका थिए । त्यसको दुई दिनपछि उनी ओली समूहको जिल्ला सभामा देखिएका थिए। लगत्तै गृह मन्त्रालयले माघ ६ गते जिल्ला प्रशासनमा हवल्दारसरहको पीएसओ खटाउन निर्देशन दिएको थियो।
साभार: नयाँविश्व डट कम