– सागर भण्डारी
गुल्मी- महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामी गुल्मीले कक्षा ८ मा अध्यनरत विद्यार्थीका अभिभावहरुबीच भेला तथा अन्तरक्रिया सम्पन्न गरेको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यार्थी अभिभावक र शिक्षकहरुबीच रहेका कमीकमजोरीहरु पहिचान गरि त्यसलाई सुधार गर्ने उद्धेश्यले अभिभावक भेला सम्पन्न गरेको विद्यालयले जनाएको छ।
भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै विद्यालयका आधारभूत तह ईन्चार्ज शिक्षक रामचन्द्र सापकोटाले भेलाको मुख्य उद्धेश्य शैक्षिक गुणस्तर वृद्धि गर्नुरहेको भन्दै विद्यालय र शिक्षकहरुबाट पनि कमजोरी हुन सक्ने भएकाले अभिभावकहरुको सुझाव आवश्यक रहेको बताउनुभएको थियो।
उक्त अवसरमा कक्षा ८ ए सेक्सनका कक्षाध्यापक हिरामणी सापकोटाले अर्धवार्षिक परिक्षाको विषयगत शैक्षिक उपलब्धी प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सापकोटाले कोरोना सक्रंमणका कारण चालु शैक्षिक सत्र ढिलो गरी सुरु भएकाले छिटो कोर्स सक्नुपर्ने बाध्यता रहेको भएपनि सिकाई उपलब्धीमा असर नगर्ने गरी पठन पाठन भईरहेको बताउनुभएको थियो । त्यस्तै उहाँले अभिभावकहरुले आफ्ना छोराछोरीको उचित निगरानी सगैं वास्तविक समस्या शिक्षकहरुसगं राख्न सके शिक्षक,अभिभावक र विद्यार्थीबीचको दुरी पनि कम हुने र यसले शैक्षिक उपलब्धी हासिल गर्न महत्वपूर्ण रहने बताउनुभयो।
सोही अवसरमा कक्षा ८ बी सेक्सनको शैक्षिक उपलब्धी कक्षाध्यापक होमनाथ खरेलले प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा खरालले आफ्ना छोराछोरीलाई विद्यालय पठाएर मात्रै अभिभावकको जिम्मेवारी पुरा नहुने भन्दै घरमा पनि पठनपाठन गर्ने समय उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । निजी विद्यालय र सार्वजनिक विद्यालयमा पढ्ने आफ्नै छोराछोरीमा पनि अभिभावकहरुले विभेद गर्ने प्रचलन रहेकाले सार्वजनिक विद्यालयको शैक्षिक स्तर सुधार हुन नसकेको बताउनुभएको थियो।
कार्यक्रमममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि सुदर्शन शाक्यले विद्यालयले समय समयमा गर्ने अभिभावक भेलाको महत्व रहेपनि अभिभावकहरुले त्यो कुरा नबुझेर अनुपस्थित हुने गरेको बताउनुभयो । विद्यालयले जेहेन्दार, गरिब र विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरेकाले आर्थिक अभावका कारण कोही पनि विद्यालयको पहुँच भन्दा टाढा रहननपर्ने बताउनुभयो।
भेलामा अभिभावकहरुले आफ्ना छोराछोरीहरुको आनिबानी र पठनपाठनका विषयमा बताएका थिए । भेलामा अहिलेका अधिकाशं विद्यार्थीहरु पढाईमा भन्दा पनि धेरै सामाजिक सञ्जाल र मोबाईलको प्रयोगतर्फ ध्यान दिने गरेकाले त्यसको न्यूनिकरणका लागि के गर्ने भन्ने विषयमा पनि छलफल गरिएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक धनपति खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । शिक्षक अभिभावक सघंका अध्यक्ष चुरामणी सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा शिक्षक,अभिभावक विद्यार्थी लगायतको सहभागीता रहेको थियो। भेलाको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारीले गर्नुभएको थियो।