बाग्लुङ: जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ सेरामा स्थापना भएको एक सहकारीको रकम सञ्चालन समितिले झ्वाम पारेको आरोप लागेको छ। २०६९ सालमा स्थापना भएको दोभान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ददिराम शर्मा लगायत कार्यसमितिले करिब २२ लाख रुपैयाँको हिसाब किताब देखाउन नसकेको भन्दै सञ्चालक समितिले रकम झ्वाम पारेको सेयर सदस्यले आरोप लगाएका छन्।
‘बन्छौँ हामी स्वाभिमान, बचत हाम्रो अभियान साहारा हाम्रो दोभान’ भन्ने उद्देश्य सहित ४१ जना सेयर सदस्यबाट सञ्चालनमा आएको सहकारीले सेयर सदस्यलाई वेसाहारा बनाउँदै रकम हिनामिना गरेको सेयर सदस्यले बताएका छन्। २२ लाख रुपैयाँको हिसाब किताब देखाउन नसकेपछि दुई वर्ष देखि सहकारीको साधारणसभा समेत नगरेको ती सेयर सदस्यले आरोप लगाए।
संस्थाका अध्यक्ष ददिराम शर्मा र सचिव चुडामणी भुसालको मिलेमतोमा संस्थाको रकम हिनामिना गरेर सहकारी डुबाउने काम गरेको नाम नबताउने शर्तमा एक सेयर सदस्यले बताए। २२ लाख रुपैयाँ हिनामिना भएकोमा १५ लाखको हिसाब किताब अध्यक्ष सचिवले मिलाउने भन्दै जिम्मा लिए पनि अन्य रकमको कुनै हिसाब नभेटिएको ती सेयर सदस्य बताउँछन्।
‘उनीहरु मिलेर पैसा झ्वाम पारे आफुले जम्मा गरेको रकम पासबुकमा वास्तविक भए पनि संस्थाको खातामा बचतको आधार रकम पनि छैन, यस्तो धेरैको भएको रहेछ,’ उनले भने। अध्यक्षले आफ्नै घरमा सहकारीको कार्यालय राखेर आफै भाडा बुझ्ने र सेयर रकम र नियमित बचत वापतको रकम समेत आफैले खर्च गर्ने गरेको उनको आरोप छ।
दुई वर्षदेखि हिसाब किताब चाहियो भन्ने सेयर सदस्य धेरै भए पनि सञ्चालक समितिको मिलेमतोका कारण सोधभर्ना गर्नुपर्ने रकम समेत फिर्ता नभएको र सेयर धनीले आफुले राखेको सेयर समेत फिर्ता नपाएको अर्का सेयर सदस्यले गुनासो गरे । समिति भित्रकै टाठा बाठाले ऋण भन्दै रकम मनमर्जी लगेका कारण समितिकै लापरबाही रहेको सेयर धनीको भनाई छ । सुरुमा कर्मचारीको दोष देखाएर अध्यक्ष सचिव उम्कने प्रपञ्चमा लागे पनि कर्मचारीको दोष नदेखिएपछि १५ लाखको जिम्मा आफुहरुले लिने भन्ने निश्कर्षमा पुगेको एक सञ्चालक सदस्यले बताए।
दुई वर्षदेखि हिसाब किताब बन्द रहेको सहकारीको कार्यालयमा ताल्चा झुण्ड्याईएको छ । सहकारीको संरक्षकको भूमिकामा रहेको तुलसीराम अर्यालले पनि यसबारेमा कुनै चासो नलिएको सेयर धनीको गुनासो छ । डेढसय बढि सेयर सदस्यसंग कारोबार गरिरहेको सहकारी संस्था डुब्दा एक करोड रुपैयाँ डुब्ने संकटमा पुगेको उनले बताए । सहकारीबाट ऋण लगेका सदस्यहरुले सेयरमा कटाउने भन्ने गरेका छन् भने अन्य सेयर धनीहरु आफ्नो रकम डुब्ने चिन्तामा छन्।
सहकारीका नियमनकारी निकायहरुको प्रभावकारी सक्रियता नहुँदा सहकारी संस्थामा लगानी गरेकाहरुको रकम डुब्ने अवस्थामा पुगेको सेयर धनीहरुको गुनासो छ । सहकारी संस्था दुई वर्षदेखि बन्द रहेको सेयर धनीहरुले बताएका छन् । संस्थाका अध्यक्ष ददिराम शर्माले आन्तरिक हर हिसाब नमिलेका कारण केही भएको समस्या बताए । ‘सहकारीको आन्तरिक हिसाब किताब नमिलेको साँचो हो, लेखा संयोजक र प्रवन्ध निर्देशकले त्यो मिलाउँदै हुनुहुन्छ । उहाँहरुले ढिला गरेका कारण केही समस्या भएको छ,’ उनले भने।
लक डाउनपछि सहकारी सञ्चालन गर्न नसकेको र ऋण लगानी गरेको रकम उठाउन नसक्दा पनि केही समस्या भएको उनको भनाई छ। सहकारी बन्द भए पनि सेयर सदस्यको रकम नडुब्ने उनले बताए। ‘धेरै जसोले संस्थाबाट ऋण नै लैजानुपभएको छ, नलगेकाहरुको पनि हामीले तिर्छौं भनेका छौं,’ शर्माले भने,‘म अध्यक्ष भएको नाताले जसरी पनि तिर्छु भनेको छु। सामाजिक न्यायको कुरा हो ।’ सहकारीको रकम आफुले व्यक्तिगत रुपमा खर्च गरेको भन्ने आरोप भने निराधार रहेको उनको भनाई छ।
संस्थाको प्रवन्ध निर्देशकको समेत जिम्मेवारीमा रहेका सचिव चुडामणि कँडेलले अघिल्लो पटक साधारणसभा गर्दा १५ लाख मौज्दातमा रहेको र त्यो अध्यक्ष, सचिव सञ्चालक समितिका व्यक्तिको जिम्मा रहेकाले त्यसको परिपूर्ति गर्ने भन्ने कुरा भएको र बाँकी रकम खोज्ने कुरा भएको बताए । संस्थाको हिसाब किताब नखोजी कर्मचारीलाई विदा दिएका कारण समस्या भएको उनी बताउँछन् । ‘लक डाउनपछि सहकारी खोल्न सकिएन, कर्मचारीलाई पनि विदा दिईयो,’ उनले भने,‘हिसाबमा केही रकम नदेखिएको नै हो । ४५ लाख त ऋण उठाउन बाँकी नै छ ।’
अधिकांश सेयर सदस्यले ऋण लगेको र ऋण नलगेका सेयर सदस्यहरुको रकम सञ्चालक सदस्यहरुले व्यहोरेर भए पनि फिर्ता गर्ने उनले बताए । ‘हामीले सेयर सदस्यको रकम फिर्ता गर्छौं, लगानीमा भएको ऋण सहकारी ऐन अनुसार असुल हुन्छ,’ उनले भने,‘अपुग रकम सञ्चालक समितिले व्यहोरेर भए पनि फिर्ता हुन्छ । सबै जिम्मेवारी सञ्चालक समितिको हुने भएकाले सञ्चालक समितिले गोजीबाट हालेर भए पनि रकम फिर्ता गर्नुपर्छ। हामीले गर्छौंं।
साभार: बाग्लुङ पोष्ट