गुल्मी: जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जिप दुर्घटना हुँदा ५ जनाकाे ज्यान गएकाे छ। गुल्मीको तम्घासदेखि स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेको लु १ च १६५५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ रूमालेमा दुर्घटना हुँदा प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत र अन्य ४ जनाकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ।
दुर्घटनामा मृत्युु हुनेहरुमा स्याङजा स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, गुल्मी धुर्काेट गाउँपालिका ७ घर भएका नायव सुब्बा ईश्वरी भण्डारी, गुल्मी मालिका गाउँपालिका ७ का खरिदार यमलाल पन्थी, रेसुङ्गानगरपालिका ७ घर भई प्रशासनका कम्प्युटर अपरेटर सूर्य पन्थी र जिपका चालक गुल्मी मुसिकाेट नगरपालिका ३ का २२ बर्षिय केशव कार्की रहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ।
गाडी चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा र अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरीक्षक (सई) बुद्धिप्रसाद रानाले जानकारी दिए। रानाका अनुसार बसलाई ओभरटेक गर्न खोज्दा जिप सडकदेखि करिब ६० मिटर तल भिरमा खसेको बताईएकाे छ।
दुर्घटनामा१२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार गम्भीर घाइते भएका छन । त्यस्तै, २३ वर्षीय सुुनिता कँडेल, २९ वर्षीय वसन्ती पौडेल, उनकी ४ वर्षीय छोरी निकिता पौडेल, ३० वर्षीय गीता मुखियाँ उनकी १२ वर्षीय छोरा अनिस मुखियाँ, २४ वर्षीय तारा भडारी बोहरा, उनकी ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीय कमला ज्ञवाली र २५ वर्षीय मुना पाण्डे घाइते भएका छन्।
मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म छन्।