लघुकथा: जमाना

लघुकथा: जमाना

Badigad Online
1 Min Read

– राजन पनेरु

“हेर् केटा ! अहिलेको जमानामा जन्मिन पाएको भए मेरो पनि मोबाइल, कम्प्युटर हुन्थ्यो होला। मैले पनि मोबाइलमा केटीलाई फोन, म्यासेज, मिसकल गर्थें होला। फेसबुक, ट्विटर चलाउँथें होला। राम्री-राम्री केटी खोजेर फ्रेन्ड रिक्वेस्ट पठाउँथें होला। रातभर च्याट गर्थें होला। लाइक, कमेन्ट गर्थें होला। स्काइप, भाइबरमा भिडियो च्याट गर्थें होला । बिहेपछि गर्ने कुरा पहिल्यै गर्न पाउँथें होला। कस्तो आनन्द हुन्थ्यो होला … ! तर दुर्भाग्य ! म पहिल्यै जन्मिएछु।”

नातिको प्रविधियुक्त जमाना देखेर हजुरबा डाहाले चुक्चुकाए।

हजुरबाको कुरा सुनेर नातिले भन्यो, “हेर्नु न बा ! तपाईंको जमानामा जन्मिन पाएको भए मेरो पनि सानैमा बिहे हुन्थ्यो होला। केटीहरूलाई कुनै भाउ दिनु पर्दैनथ्यो होला। मोबाइल, इन्टरनेटको हजारौंको बिल तिर्नु पर्दैनथ्यो होला। इलेक्ट्रोनिक सामानले शरीर र स्वास्थ्य बिग्रने थिएन होला। गर्लफ्रेन्डलाई समय दिने, घुमाउन लैजाने, गिफ्ट किन्दिने टेन्सन हुने थिएन होला। तीन–चार वटी बिहे गर्छु भने नि पाउँथें होला। घरभरि सन्तान जन्माउँथें होला। सबैलाई काममा कजाएर म पनि बसीबसी खान्थें होला।”

उसले खुइय गर्दै भन्यो, “तर अफशोच् ! म धेरै पछि जन्मिएछु।”

स्रोत: बाह्रखरी

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित