कपिलवस्तु – कपिलवस्तुमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढदै गएपछि सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा उनीहरुको उपचारमा समस्या देखिन थालेको छ । कपिलवस्तु नगरपालिका र स्वास्थ्य कार्यालयको पहलमा तौलिहवाको जमुवार टोलमा स्थापना गरिएको २० वटा बेड को कोरोना अस्थायी अस्पतालमा सङ्क्रमित बिरामीहरु राख्ने ठाउँ नभएपछि कपिलवस्तु अस्पतालमै सङ्क्रमित बिरामीहरुको उपचार भैरहेको छ।
अस्पताल भवनको इमरेन्जी वार्डको बाहिरपट्टिको बरन्डामा बेडको प्रबन्ध गरी कोरोना सङ्क्रमित र कोरोना शङ्कास्पद बिरामीहरुको उपचार गर्न थालिएको हो । सङ्क्रमित बिरामीहरु बढदै गएपछि बरन्डाको भुइँमा राखेर पनि बिरामी उपचार गर्न सुरु गरिएको हो । स्वास्थ्यकर्मीहरु रात–दिन नभनी खटिए पनि अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको अभावका कारण स्वास्थ सेवा प्रभावित हुन थालेको कपिलवस्तु अस्पतालका मेडिकल अफिसर गणेश क्षेत्रीले जनकारी गराउनुभयो ।
अस्पतालमा अक्सिजनको कमि भएपछि बिरामी समस्यामा पर्न थालेका छ्न । अस्पतालमा एउटै सिलिन्डरबाट दुई–तीन जना सम्मलाई उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जनकारी गराउनुभयो ।
पालिकाले अस्पतालमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न नसकेपछि अक्सिजन बैंक स्थापनाका लागि स्थानीय युवाको अग्रसरतामा अभियान सुुरु गरिएको छ । गएको वर्ष सक्रियता देखाएका पालिकाका जनप्रतिनिधिहरु यस वर्ष खासै सक्रिय नभएको कपिलवस्तु नगरपालिका २ का युवा अगुवा प्रकाश घिमिरेको गुनासो गर्नु भएको छ ।
कपिलवस्तुमा अहिले झन्डै नौ सय जना सक्रिय सङ्क्रमित रहेका छन् भने ६४ जनाको सङ्क्रमणबाट ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनकारी दिनु भएको हो।