एक वर्षपछि बल्लतल्ल स्वाब संकलन सुरु, त्यसको पनि जस लिने होडबाजी
बचाउन सकिथ्यो ढोरपाटन नगरपालिका-४ खुंगाकी ६६ वर्षीया महिलालाई
ढोरपाटन नगरपालिका-४ की ६६ वर्षीया महिलाको वैशाख २८ गते कोरोनाले धौलागिरि अस्पतालमा मृत्यु भयो। २७ गते अपराह्न साढे ४ बजे अस्पताल भर्ना भएकी उनले श्वासप्रश्वासमा गम्भीर समस्या हुँदा पनि आईसीयू पाइनन्। उनको स्वाब परीक्षण नै भोलिपल्ट ७ बजे मात्र गरियो। त्यसको केही समयमै ज्यान गयो।
ती महिलामा श्वास प्रवासको धेरै समस्या भएपनि आइसीयू पाइनन् ।आइसीयू भरिएकोले उनको बिहान १० बजेर ३५ मिनेट जादा इमरजेन्सी वार्डमै मृत्यु भयो।
उनमा गम्भीर खालको लक्षण देखिएपछि इमरजेन्सीमा ल्याउनासाथ तत्काल आइसीयूको व्यवस्था गर्न नभए पोखरा,काठमाडौको अस्पतालमा लैजानको लागि व्यवस्था मिलाउन इमरजेन्सी वार्डको चिकित्सक र स्वास्थ्यकर्मीर्ले जानकारी गराए पनि उनलाई बचाउनको लागि कुनै उपाय गरिएन ।
संक्रमित महिलाको बारेमा ढोरपाटन नगरपालिकाले समयमै चासो लिएको भए ती महिलालाई बचाउन सकिने अस्पतालले जनाएको छ ।
धेरैलाई कोरोनासँग मिल्दोजुल्दो कडा लक्षण देखा पर्र्यो तर गम्भीर बनेन नगरपालिका
ढोरपाटनकै वडा नम्बर ६ अधिकारीचौरकी एक महिलाको दुई साताअघि कोरोनाकै जस्तो लक्षणले मृत्यु भयो । बुर्तिबाङ हिमाली मेडिकलबाट आफूखुसी औषधि किनेर खाएकी उनलाई निको नभएपछि धौलागिरि अस्पताल ल्याउँदै गर्दा खर्बाङमा मृत्यु भयो ।
बुर्तिबाङका एक स्वास्थ्यकर्मीका अनुसार कोरोनाकै लक्षणले स्थानीयको मृत्यु भइरहे पनि स्वाब परीक्षण गरेर पुष्टि हुन सकेको छैन । ‘ढोरपाटन नगरपालिकाभित्र शंकास्पद बिरामीको मृत्यु भइरहेको छ तर उनीहरू कोरोनाकै कारण बितेका हुन् वा अरू कारणले, यकिन छैन,’ उनले भने ।
धेरै मृतकको नयाँ कोरोनासँग मिल्दोजुल्दो कडा खालको लक्षण देखिएको थियो ।समयमै परीक्षण र उपचार नपाउदा उनीहरुको अकालमै ज्यान गएको थियो ।
किन गरेन एक वर्षदेखि स्वाब संकलन ? कोरोना रोकथामको काम अलपत्र
शुक्रबार साँझ ‘ढोरपाटन नगरपालिकाले चासो नदिएपछि जित शेरचनको पहलमा स्वाब संकलन’ शीर्षक समाचार बाहिरियो । सोही समाचार बाहिरिएपछि त्यसको जस लिन होडबाजी चलेको छ ।
ढोरपाटनमा एक वर्षदेखि रोकिएर शुक्रबारदेखि पुनः सुरु भएको स्वाब संकलनको जस लिन नगरपालिका र कांग्रेस नेता शेरचनबीच यस्तो होडबाजी चलेको हो ।
नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख घनश्याम चालिसे जनताको सुरक्षा गर्ने दायित्व आफूहरूको भएकाले नगरपालिकाले भीटीएम उपलब्ध गराएर शंकास्पद व्यक्तिको पीसीआरका लागि स्वाब संकलन गरेको बताउँछन् ।
‘व्यापारी र वडाका कोरोनासँग मिल्ने लक्षणका बिरामी बोलाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा नगरपालिकाले स्वाब संकलन गरेको हो,’ चालिसेले भने, ‘म अक्सिजन लिन पोखरा आएको छु, फेरि कुनै व्यक्तिले मेरो पहलमा बुर्तिबाङमा अक्सिजन आयो भन्ला ।’
उनका अनुसार नगरपालिकासँग भएको भीटीएमले शंकास्पद ४३ जना व्यक्तिको स्वाब संकलन गरिएको हो ।
समय खेर फाले मेयर नेपालीले पोखरा बसेर, मानवीय क्षति हुन थालेपछि आफै अघि सरे स्थानीय
यता नेता शेरचनले आफ्नो समन्वयमा शंकास्पद व्यक्तिहरूको स्वाब संकलन गरेर बागलुङ पठाइएको दाबी गरे । उनले नयाँ विश्वसँग भने, ‘नगरपालिकासँग भएको भीटीएम नगरप्रमुखले प्रयोग नगर्न निर्देशन दिएपछि मैले समन्वय गरेर स्बाव संकलन गर्ने काम भएको छ । थप भीटीएम लिएर केही दिनमा फेरि स्वाब संकलन थाल्छौं ।’
महामारीमा नगरपालिकाले स्वाब परीक्षण नथालेपछि बागलुङबाट ५० थान भीटीएम किट मगाएर ४३ जनाको स्वाब पठाएको उनले दाबी गरे ।
शेरचनले ढोरपाटन नगरपालिका–१ का वडाध्यक्ष चित्रबहादुर भण्डारीसँग समन्वय गरेर बुर्तिबाङमा आइसोलेसन बनाउने काम भइरहेको बताए । ‘हामी आइसोलेसन बनाउने चरणमा छौं, विभिन्न देशबाट पैसा उठाउने काम भएको छ, अक्सिजनसहितको आइसोलेसन केही दिनमा तयार हुन्छ,’ उनले भने ।
पछिल्ला केही दिनयता दैनिकजसो स्थानीयको मृत्यु हुन थालेपछि पीसीआर परीक्षणमा नगरपालिकाले ध्यान नदिएको भन्दै तीव्र आलोचना भएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले नगरपालिकाभित्र रहेको अस्पतालको आफ्नो जिम्मेवारी हुने भएकाले त्यहाँ हुने काम सबै नगरपालिकामार्फत हुने बताए ।
‘आइसोलेसन निर्माण नगरपालिकाले गरिसकेको छ,’ उनले भने, ‘कार्यपालिकाको बैठकले पीसीआर परीक्षणका लागि सातामा दुईपटक अथवा आवश्यकताअनुसार गर्ने निर्णय गरेका छौं ।’
‘कन्ट्याक्ट ट्रेसिङ गर्न सक्दैनौं’
प्रमुख प्रशासकीय अधिकृत भट्टराईले कोरोना संक्रमण फैलिसकेकाले आफूहरूले कन्ट्याक्ट ट्रेसिङ भने गर्न नसकिने बताए । ‘हामीले लक्षण भएका बिरामीको परीक्षण गर्छौं तर कन्ट्याक्ट टे«सिङ गर्न सक्दैनौंं,’ उनले भने ।
वैशाखको पहिलो हप्तादेखि नै गरेका थिए खबरदारी व्यवसायी,युवा, नेता र संचारकर्मीले यसअघि नगरपालिका कोरोनाका बेला गम्भीर नभएको भन्दै वैशाख २१ गते ढोरपाटन उद्योग वाणिज्य संघ, बुर्तिबाङ अध्यक्ष चिन्तामणि शर्मा र राइजिङ युवा क्लबका अध्यक्ष सोमबहादुर पौवी यामुसहितको व्यवसायी र युवाहरुले समयमै मेयर नेपालीलाई तत्काल प्रभावकारी स्वाब संकलन गर्न,लकडाउन गर्न,आइसोलेसनको व्यवस्था गर्न,बाहिरी जिल्ला र तेश्रो मुलुकबाट आउने व्यक्तिहरुकोतथ्याङ राख्न ,होम आइसोलेसनमा बस्ने नियम बनाउन र संक्रिय संक्रमितहरुलाई आपतकालीन स्वास्थ्य उपचारको व्यवस्था गर्न र नागरिकहरुको बाच्न पाउने अधिकारको रक्षा गर्न ज्ञापन बुझाएर माग गरेको थियो ।
तर मेयर नेपाली समयमै बुर्तिबाङमा आएर यसको व्यवस्था गर्नुको बदला पोखरामै बसेर समय खेर फालेका थिए ।वैशाखको २९ गतेपनि व्यवसायी,युवा, दलका नेताहरु,नागरिक समाज र संचारकर्मीहरुले नगरपालिका, इलाका प्रशासन कार्यालयलगायतको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
मेयरकै निर्देशनमा रोकिएको थियो स्वाब संकलन
यसअघि ढोरपाटन नगरपालिकाकै मेयर देवकुमार नेपालीकै निर्देशनमा स्वाब संकलन रोकिएको थियो । अघिल्लो वर्षको वैशाखमा बैंक तथा वित्तीय संस्था, व्यापारी, स्वास्थ्यकर्मी गरी १४ जनामा कोरोना पोजिटिभ देखिँदा मेयर नेपाली असन्तुष्ट थिए ।
नगरपालिकासँग अनुमति नलिएर पीसीआर परीक्षण गर्न लागेको भन्दै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीसँग मेयर नेपाली रिसाएको स्रोतले बतायो ।
‘गत वर्ष १४ जनामा कोरोना पोजिटिभ देखिएपछि मेयर रिसाएर बन्द भएको काम फेरि सुरु भएको छ,’ स्रोतले भन्यो, ‘त्यति बेला मेयरले पीसीआरपछि कोरोना पोजिटिभ देखिएकाहरूको जिम्मा कसले लिने भन्दै अड्को थापेका थिए।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने आफू भदौमा मात्र आएको र पहिले किन स्वाब संकलन रोकियो भन्ने थाहा नभएको बताए।
‘म आउनुअघि के थियो, थाहा भएन। म आएपछि पहिलो पटक स्वाब संकलनको काम भएको छ,’ उनले भने।
साभार: नयाँ विश्व