– रामकृष्ण कंडेल
गुल्मी: गुल्मी दजाकोटका चट्याङ प्रभावितहरुलाई आज एक कार्यक्रमका बिच सहयोग हस्तान्तरण गरिएको छ। मुसिकोट नगरपालिका-४, दिगामचौर निवासी दल बहादुर थापा (कुलामाथी) का माईला सुपुत्र अमित थापा (वैदेशिक रोजगारीको शिलशिलामा हाल साउदी अरबमा कार्यरत) को विशेष पहलमा लुलु हाईपर मार्केट जुबेली र ग्यालेरीमा कार्यरत स्टाफको तर्फबाट संकलित सहयोग रकम हस्तान्तरण गरिएको हो।
सहयोगीहरूको तर्फबाट विशेष प्रतिनिधि विमल छन्तेलले रु. बैसठ्ठी हजार एकसय पन्चासी गुल्मी दजाकोटका उजिर बहादुर गाहाको घरमानै पुगी उक्त रकम बुझाउनु भएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा बोम बहादुर छन्तेल, नरबहादुर गाहा, छविलाल राकसकोटी, नरबहादुर गाहा, थम्मनबहादुर गाहा, फुलमाया राकस, सरिता राकस, सरस्वती राना, चुरा पेमी लगायतको उपस्थिती रहेको थियो।
स्मरण रहोस यहि बैशाख २४ गतेका दिन मुसिकोट नगरपालिका-४, दजाकोटका उजिर बहादुर गाहाको घरमा परेको चट्याङले निकै धेरै जनधनको क्षती पुगेको थियो।
यो पनि: ‘गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड बजेट विनियोजन’
‘चट्याङले गाहाको घर बस्न नमिल्ने अवस्थामा छ। पाल्पा प्रभासमा उपचाररत छोरा बुहारी जुनि गाहा, तुल बहादुर गाहा, नाति र नातिनी जेनित र मेनिला गाहा अस्पतालबाट डिस्चार्ज भई घर आईसक्नु भएको छ।’ हामीलाई दजाकोट बाट विमल छन्तेलले जानकारी दिनु भएको छ। छन्तेलका अनुसार उहाँहरूलाई अस्थायी टहरा निर्माण गरि बसाई सारिएको छ।
मुसिकोट नगरपालिकाबाट जम्मा रु. २५ हजार किरिया खर्च प्रदान गरिएको थियो। नगरपालिकाको यस प्रकारको सहयोग प्रति परिवारजन सन्तुष्ट नभएको बताईएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थितहरूबाट यो जनधनको क्षतीलाई सामान्य नठानी तल्काल नगरपालिकाबाट राहतको उपर्युक्त प्याकेज घोषणा गर्न जोडदार माग गरिएको छ।