– सागर भण्डारी
गुल्मी: कोरोना सक्रंमण दर समुदाय स्तरमा व्यापक रुपमा बढ्न थालेको र अक्सिजनको अभाव भएको समाचार आउन थालेपछि बडिगाड गाउँपालिका स्थायी घर भई देशका विभिन्न ठाउँमा रहेका व्यक्तिहरुबाट थुप्रै स्वास्थ्य सामाग्री सहयोग आएको छ।
विभिन्न व्यक्ति तथा संस्था मार्फत आएको उक्त सामान गाउँपालिकालाई समन्वय गर्नुभएका राजन पाईजाले हस्तान्तरण गर्नुभएको छ। उक्त स्वास्थ्य सामाग्रीहरु कोरोना सक्रंमण रहुन्जेल गाउँपालिकाले आवश्यकताको आधारमा प्रयोग गर्ने र पछि सहयोगमा भनिए बमोजिम स्वास्थ्य संस्थाहरुलाई प्रदान गरिने समेत पाईजाले बताउनुभयो।
देश तथा विदेशका विभिन्न ठाउँबाट आएको सहयोगबाट सामाग्रीहरु गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । जसमध्ये गैर आवासीय नेपाली सघं पुपुवान्युगिनीबाट ५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग भएको छ । उक्त संस्थाबाट ३ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन,२० बक्स माक्स, सर्जिकल ग्लोब्स्,लगायतका स्वास्थ्य सामाग्री रहेका छन्।
त्यस्तै कतारबाट प्रेम श्रीस मगरको सयोंजकत्वमा सकंलित रकमबाट ५ वटा बेड, जापानमा कार्यरत पौदीबासीहरुको पहलमा १० थान अक्सिजन सिलिण्डर र नेपाली काँग्रेसको तर्फबाट विष्णु प्रसाद आचार्यको सहकार्यमा ३ थान अक्सिजन कन्सन्टे्रटर मेसिन गाउँपालिकाका अध्यक्ष मेयर सिहं पाईजालाई हस्तान्तरण गरिएको हो।
उक्त कार्यक्रममा अध्यक्ष पाईजाले सहयोगी प्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो।
अन्य केही स्वास्थ्य सामाग्रीहरु पनि आएको र त्यो ल्याउन बाँकी रहेको राजन पाईजाले बताउनुभयो।
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।