बागलुङ: बागलुङ-घोडाबाँधे खण्डको मध्यपहाडी लोकमार्ग चर्चा र आलोचनाको सडक खण्ड रह्यो।
निर्माण कार्य सुरुभएको वर्षौसम्म अलपत्र रहेको यो सडक खण्डमा यतिबेला कालोपत्रे गर्ने कार्य सुरु भएको छ। लोकमार्गको घोडाबाँधे-विहुँ खण्ड अहिले कालोपत्रे भइरहेको छ।
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि घोडाबाँधे सम्मको करिव २५ किलोमिटर सडक कालोपत्रे भएको छैन। हिउँदमा धुलाम्मे र वर्षतमा हिलाम्मे भएर जनतालाई सास्ती बनाएको छ। अहिले सो खण्डमा घोडाबाँधेको गणेशनाथ घुम्तीबाट जिल्ला सदरमुकाम तर्फको विहुँतर्फ सडक कालोपत्रे सुरु भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ।
निर्माण कम्पनीहरुले सडक बनाउने ठेक्का सम्झौता भएको पाँच वर्षपछि बल्ल यस खण्डमा सडक कालोपत्रे गर्न थालिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका इन्जिनियर उज्वल शर्माले बताउनुभयो। घोडाबाँधेमा-६ किलोमिटर सडक ग्राभेल भई सोमबारदेखि कालोपत्रे गर्न थालिएको इञ्जिनियर शर्माको भनाई छ।
यता बागलुङ बजारको उपल्लाचौरदेखि अक्षेते सम्म धमाधम वेस बिछ्याउने र ग्रेडिङ गर्ने काम भइरहेको छ। अबको केही महिना भित्रै बागलुङहुुँदै घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रे सक्ने लक्षय रहेको ईञ्जिनियर शर्माले बताउनुभयो। शर्माका अनुसार सदरमुकाम खण्डको १३ किलोमिटर सडकमा कालोपत्रेको कामका लागि बेस बनाउने काम तीव्ररुपमा अघि बढेको छ।
तत्काल भने, बागलुङ बजारदेखि अछेते सम्मको ८ किलोमिटर र बिहुँ घोडाबाँधेको ९ किलोमिटर सडक कालोपत्रे गर्ने आयोजनाले जनाएको छ । निर्माण कम्पनीले १७ किलोमिटर सडक कालोपत्रे गरेमा अन्य बाँकी रहेको ८ किलोमिटर सडक असारसम्म कालोपत्रेका गरिसक्ने बताइएको छ।
मध्यपहाडि लोकमार्गको कुल १ हजार ७ सय ७६ किलोमिटर सडकखण्ड मध्ये बागलुङमा मात्र १ सय ४२ किलोमिटर पर्दछ। सो सडकखण्डमा अब ४६ किलोमिटरसडक कालोपत्रेगर्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ।
ढोरपाटन पोष्टबाट